हेटौंडाका सबै फिडरमा विद्युत सुचारु

गुगलपाटी संवाददाता
१७ असार २०७७ १२:३२

चौकीटोलस्थित नेपाल विद्युत प्राधिकरणको हेटौंडा ग्रीडमा समस्या भएपछि अवरुद्ध भएको हेटौंडाको विद्युत सेवा करिब ४ घण्टापछि सुचारु भएको छ । आज बिहान ११ः४५ मा हेटौंडा वितरण केन्द्रअन्तर्गत ८ वटै फिडरमा विद्युत अवरुद्ध भएको थियो । दिउँसो साढे ३ बजे ८ वटै फिडरमा विद्युत सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

ट्रान्सफर्मरबाट फिडरमा विद्युत प्रवाह गर्ने तार पड्कीएर क्षति भएपछि विद्युत अवरुद्ध भएको वितरण केन्द्र प्रमुख ठाकुरले बताउनुभयो । विद्युत अवरुद्ध भएको करिब १ घण्टापछि ८ मध्ये ३ वटा फिडरमा विद्युत सुचारु गरिएको थियो । दिउँसो १२ः४५ मा हेटौंडा वितरण केन्द्रअन्तर्गतको भुटनदेवी, एचआईडी र युनिलिभर फिडरमा विद्युत सुचारु भएको थियो ।