मकवानपुरका बालकालिकालाई आज र भोलि भिटामिन “ए” खुवाउँदै

गुगलपाटी संवाददाता
२२ असार २०७७ ०९:४०

आज सोमबार र भोलि मंगलबार देशव्यापी रुपमा राष्ट्रिय भिटामिन “ए” कार्यक्रम सञ्चालन हुदैछ । राष्ट्रिय कार्यक्रमको रुपमा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन “ए” खुवाइँदै छ । भिटामिन “ए” सँगै एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी र बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिँदै छ ।

हेटौंडा उपमहानगरपालिकाका १२ हजार भन्दा बढी बालबालिकालाई लक्षित गरी भिटामिन “ए” खुवाउने कार्यक्रम सञ्चालन भैरहेको हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य शाखा प्रमुख रमन झाले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिमका कारण भीडभाड नगर्न, खोप केन्द्रमा जाँदा नाक मुख छोपिने गरी मास्क लगाउन, बालबालिकालाई पनि मास्क लगाइदिन, लाइनमा बस्दा अर्को व्यक्तिसँग कम्तिमा २ मिटर दुरी कायम गर्न, खोप केन्द्रमा राखिएको हात धुने ठाउँमा गई आफ्नो र बालबालिकाको हात साबुन पानीले धुन आग्रह गरिएको छ ।

भिटामिन “ए” ले बालबालिकाको रोगसँग लड्ने क्षमता बढाई दादुरा तथा झाडापखाला जस्ता रोगहरु लाग्नबाट बचाउने हुनाले ६ महिना पुरा भएको बालबालिकालाई पनि भिटामिन ए क्याप्सुल खुवाउनु जरुरी हुने स्वास्थ्यकर्मीको भनाइ छ ।