वन्यजन्तुको संरक्षणका लागि बागमती सरकारको चासो
गुगलपाटी संवाददाताबागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संरक्षित क्षेत्र बाहिररहेका वन्यजन्तुको संरक्षण गर्नका लागि चासो दिएको छ । मन्त्रालयले गैडा, सालक र रेडपाण्डा लगायत लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु र तिनको वासस्थान संरक्षणका लागि बजेटको व्यावस्था गरिएको हो ।
वन्यजन्तु उद्धारका लागि मकवानपुर र काठमाण्डौमा द्रुत उद्दार टोलीको व्यवस्था गरी परिचालनका लागि रकम व्यवस्था गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले वताउनुभयो । लेकाली क्षेत्रको वन, वन्यजन्तु र वनस्पति संरक्षणका साथै उक्त भेगका जनताको जीविकोपार्जनमा टेवा पुर्याउन उपल्लो धादिङको वनलाई संरक्षित वनको रुपमा व्यवस्थापनकाम मन्त्रालयले गर्ने भएको छ ।
जडिवुटीको व्यावसायिक खेती विस्तारका लागि पकेट क्षेत्रमा जडिबुटी खेती गर्ने र सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा निजी, सहकारी, समूह तथा समुदायको सहयोगमा जडिवुटी फर्म संचालन गर्ने व्यवस्था गरिएको मन्त्री नेपालले वताउनुभयो । टिमुर, अमला, सतुवा, चिराइतो, लौठसल्ला जस्ता प्रजातीको कम्तिमा २ सय रोपनी क्षेत्रफलमा जडिवुटी खेती गर्ने गरी १९ वटा प्लट खेती गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । यो कार्यक्रमबाट ७२ सय रोपनीमा जडिवुटीमा खेती हुनेछ ।
यो कार्यबाट १४ हजार ४ सय जना नागरिकले अल्पकालिन रोजगारी प्राप्त गर्ने अनुमान गरिएको मन्त्री नेपालले वताउनुभयो । समूह, समुदाय, सहकारी, निजी, कम्पनी वा फर्मको साझेदारीमा खेर गएको खालि जमिनमा नीजी वन विकास लागि कम्तीमा १० हेक्टर को प्लट बनाइ व्यावसायिक वन विरुवा तथा फलफूल रोपण गर्न व्यवस्था गरिएको छ ।
भित्री मधेस तथा पहाडी क्षेत्रमा नमुना कृषि वन फर्म संचालनका लागि रकम विनियोजन गरिएको छ । गरिबमुखी कबुलियती वन विकास कार्यक्रमको प्रभावकारीताका लागि गरीब समुदायको आयमा वृद्धि गर्न कृषि तथा वन कार्यालयको समन्वयमा कागति, लिची, जुनार लगायतका फलफूल रोपण कार्यक्रमको लागि रकम व्यवस्था गरिएको मन्त्री नेपालले वताउनुभयो ।