राक्सिराङका हिलाम्य ग्रामीण सडक, पैदल हिड्न समेत सकस

गुगलपाटी संवाददाता
२३ असार २०७७ ०६:३०

कुमारी स्याङ्बो
राक्सिराङः मकवानपुर स्थित राक्सिराङ् गाउँपालिका वडा नम्बर २ का सडक यो समयमा निकै जोखिमपुर्ण छ । त्यो सडकमा न सवारी सहजै रुपमा आवागमन हुन सक्छन् न त पैदल यात्रा गर्न नै सहज छ । उल्टै अविरल वर्षाका कारण सडक हिलाम्मे छ । सडक खण्डमा अधिकांश ठाउँमा मालबहाक सवारी रोकिएका छन् ।
साना गाडी र मोटरसाइकल सम्म चलाउन सकिने अवस्था छैन । यो समयमा हेटौंडा हुँदै भरेटार, सुनारीसौरा, भावर जाने यात्रुहरु बीच बाटोबाट पैदल यात्रा गर्न विवश छन् । तै पनि सडक भरिएको हिलाले राम्रो संग पैदल यात्रा गर्न समेत कठिन छ ।
वर्षेनी राक्सिराङ गाउँपालिकामा सडक स्तरउन्नतीमा बजेट व्यवस्था भइरहेको छ । तर त्यो बजेटको काम के भइरहेको छ । किन स्तरउन्नतीको नाममा जोखिम बढिरहेको छ । त्यसको जानकारी राज्यले लिन नसकेको आरोप स्थानियको छ । स्थानियले हिउँदमा धुलो र वर्षायाममा हिलाले सडक राम्रो सित सञ्चालन हुन नसकेको आरोप लगाएका छन् । यहाँको माटो नितान्त चिप्लो भएकोले वर्षायाममा ठुलो दुर्घटना निम्तन सक्ने खतरा बढेको छ ।
खरङ्ग, भावर हुँदै सुनारीसौरा जोड्ने सडकमा हिलो निकै छ । यो सडकमा हिडडुल गर्न पनि कठिन भएको स्थानिय बताउँछन् ।
पानी पर्ने बित्तिकै सडक हिलाम्य हुन्छ । घाम लागेको तिनचार दिन पछि धुलोले गर्दा यात्रामा सास्ती हुने गरेको छ । धुलो भन्दा पनि हिलोको कारण यात्रामा असहज हुने गरेको स्थानिय कुमार स्याङ्बोले बोहोरा बताउँछन् । उनका अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीलाई आवत जावतमा निकै सास्ती हुने गरेको छ । निर्माणाधिन अवस्थामा रहेको सडकमा पानी पर्ने बित्तिकै सवारी साधन गुड्न सक्ने अवस्था हुदैन । पुरै सडक हिलाम्य भएको हुनाले निकै जोखिमका साथ सवारी साधनहरु एक ठाउँबाट अर्को ठाउँसम्म पास हुने गरेका छन् । सडकको केही खण्डमा बालुवा र ग्राभेल भएको ठाउँमा सहज भए पनि अन्य खण्डमा निकै जोखिम अवस्था रहेको छ ।
वर्षा सिजनमा हिलोको कारणले गर्दा यात्रामा सास्ती भोग्नु परेको स्थानिय सिर्जना मुक्तानले बताइन् । बाटोमा पुरै हिलो हुने भएकाले आफुले लगाएको कपडा पिडालेर यात्रा गर्नु पर्ने बाध्यता रहेको उनी बताउँछिन् । हेटौंडा बजारदेखि सुनारीसौरा सम्मको बाटोमा वर्षामा पर्ने पानीले गर्दा स्थानियलाई आवत जावतमा समस्या भएको छ । २ घण्टाको समयमा बजार पुग्न सकिने सडकमा हिलो हुँदा ४÷५ घण्टाको समय लगाउन परेको स्थानिय बताउँछन् ।
राक्सिराङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुर्य बहादुर मोक्तानले वर्षा सिजनमा हुने हिलाम्य सडकमा सवारी साधन गुड्ने बनाउनको लागि भाद्र महिनाबाट काम सुरु गर्नेे बताए । उनले भने सडक ग्राभेल गर्न प्रदेशले १ करोड र गाउँपालिकाले ५० लाख बजेट छुट्याएको छ । अब निकट भविष्य यात्रा सहज गर्ने वातावरण बन्छ ।
खरङ्ग सम्मको सडक निर्माणका लागि टेण्डर भएको भन्दै उनले सडक निर्माणको प्रक्रियामा जारी रहेको बताए ।
सुनारीसौरा हुँदै भावर, खरङ्ग जोड्ने सडकमा पनि हिलो निकै छ । हिलोले सहजै रुपमा हिड्न सकिने अवस्था छैन । जताततै सडक देखिन्छ, स्थानिय धनराज मोक्तानले भने, तर हिड्न मिल्ने सडक छैनन् । केवल हेर्ने सडक मात्र छन् । स्थानिय सरकार सडक खन्नुलाई विकास भन्छ, तर सडकमा गाडी गुडाउने विषयलाई प्राथमिकता दिदैन उनले भने , पहिले खनेका सडक हिलोमा डुबेका छन् । अहिले खनेका सडकमा भुक्षय हुने क्रम बढिरहेको छ । जमिन भासिँदै जाँदा झनै खतरा बढेको स्थानिय बताउँछन् ।
राक्सिराङ गाउँपालिका हुँदै बजार सम्म सवारी साधन नगुडेको धेरै भइसक्यो । अविरल वर्षा संगै यो बाटोमा सवारी चल्न सकेका छैनन् । मानिसहरु पैदल ओहोरदोहोर गर्न पनि निकै कठिन छ । कर्णाली राजमार्ग बाहेकका ग्रामिण क्षेत्रमा जोड्ने सडक ज्यानमारा सडक जस्तै छन् ।
स्थानियहरु रातदिन भोकभोकै पैदल हिडिरहेका मजदुरहरुका अनेक भोगाई छन् । उनीको बाध्यता अहिले सम्म सरकारले बुझेका छैनन् । स्थानियहरु बजार सम्म आउनको लागि जङ्गलको बाटो हुँदै आउने गरेका छन् । करिब ४÷५ घण्टाको पैदल यात्रा गरेर मेन रोड आइपुग्छ । त्यहाँको जनजीवन अस्तव्यस्थ रहेको स्थानियहरुले गुनासो राखेको छ । बिहानबाट पैदल यात्रा सुरु गर्दा स्थानियहरु बाटामा खाना नमिल्ने र दुःख पाइनेमा जानकार थिए ।
यस्ता समस्या झेल्दै आएको स्थानिय नरेन्द्र मुक्तान तत्कालै बजार पुग्न चाहन्थे तर केही उपाय थिएन । त्यही बेला उनका बहिनी बिरामी थिइन् । खुट्टाको दुखाई कम हुँदै जाला तर अहिले मन धेरै पोलेको छ उनले भने । केही कुरा छैन । उनलाई बहिनी बिरामी भएकोले जसरी पनि आइपुग्नु मात्रै भनियो । अन्नतहः कुराकानी गर्दा गर्दै मोबाइलको ब्याट्री सकियो । गाउँमा बिझुलीको समस्या रहेकोले उनको मोबाइलमा चार्ज थिएन । मुक्तानलाई झन समस्या आइपरेको बताए ।

तपाईको प्रतिक्रिया