म्यानचेस्टर सिटीको साँघुरो जित

गुगलपाटी संवाददाता
१३ पुष २०७४ १३:५२

एजेन्सी । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई १ – ० ले पराजित गरेको हो ।
न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन एक मात्र गोल रहिम स्ट्रलिङले गरेका थिए । पहिलो हाफको ३१ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई ३ अंक दिलाएका थिए । घरेलु टोलीमाथि सुरुवातबाटै हाबी भएपनि सिटीले त्यसपछि थप गोल गर्न सकेन । सिटीले खेल अवधिभर ६ पटक पोष्ट आक्रमण गरेको थियो ।

यस्तै घरेलु टोलि न्युकासलले सिटीको पोष्टमा दुई पटक आक्रमण गरेको थियो । तर, पाएको अवसरमा गोल गर्न नसक्दा न्युकासल घरेलु मैदानमा पराजित भयो । योसँगै न्युकासलले सन् १९५३ को अक्टोबरपछि पहिलो पटक घरेलु मैदानमा लगातार पाँच खेल गुमाउनु परेको छ ।
यो जितसंगै सिटीले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिगमा २० खेल सकिदा सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १५ अंकको अग्रता कायम गरेको छ । जितपछि सिटीको ५८ अंक भएको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको ४३ अंक छ ।