हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालक र शिक्षक प्रतिनिधिसँँग छलफल गरे

गुगलपाटी संवाददाता
२५ असार २०७७ ११:४५

संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले सेवा, सुविधा नपाएको विषयलाई लिएर उपमहानगरले चासो देखाएको छ । हेटौंडा उपमहानगरपालिकाले बुधबार विद्यालय सञ्चालक र शिक्षक प्रतिनिधिसँँग छलफल गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको उपस्थितिमा उहाँकै कार्यकक्षमा भएको छलफलबाट ५ सदस्यीय कार्यदल गठन गरिएको छ ।

संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको सेवा, सुविधा, विद्यालयले लिने शूल्क र पठनपाठनमा देखिएका समस्या राष्ट्रिय समस्या भएको र संघीय सरकार, सम्बन्धित मन्त्रालय र अन्य सरोकारवाला बीच पनि छलफल चलिरहेकोले केही दिन केन्द्रको निर्णयको प्रतिक्षा गर्दै नगरभित्रका विद्यालय, शिक्षक, कर्मचारीको समस्याका बारेमा बुझ्ने गरी कार्यदल गठन भएको छ । संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको हकहितका लागि संघर्षरत संस्थागत विद्यालय शिक्षक यूनियन ९इस्टु० को राष्ट्रिय समितिका सचिव दीपक गौतमका अनुसार कार्यदलले स्थानीय समस्याका बारेमा बुझ्दै गर्दा केन्द्रको निर्णय पनि आउने भएकोले केही दिन पर्ख र हेरको स्थितिमा रहने सहमति भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याव्सन० मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीले विद्यालयका समस्यालाई पनि बुझेर समाधानको प्रयास गर्नुपर्ने माग राखेको बताउनुभयो ।

बुधबार गठन गरिएको कार्यदलमा प्याव्सन, एन प्याव्सनका प्रतिनिधि, संस्थागत विद्यालय शिक्षक यूनियनका प्रतिनिधि, राष्ट्रिय अभिभावक संघ र संस्थागत विद्यालय अभिभावक संघका प्रतिनिधि, उपमहानगरको शिक्षा शाखाको प्रतिनिधी रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ । लकडाउनको अवधिमा संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले सेवा, सुविधा नपाएको भन्दै आन्दोलन गरिरहेका छन् भने संस्थागत विद्यालयका सञ्चालकले तत्काल सबैलाई साविककै तलब, सुविधा उपलब्ध गराउन नसक्ने जनाउँदै आएको छ ।