मैले यसरी कोरोनालाई जिते
बिपिन घिमिरे कतार एरवेज,कतार
बिगत ६ बर्ष देखि म बैदेशिक रोजगारीको शिलशिलामा कतारको सरकारी वायुसेवा निगम कतार एयरवेजमा कार्यरत छु । मेरो स्थायी ठेगाना बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडा उपमहानगरपालिका हो । विश्वभरि कोरोना महामारीबाट निकै मान्छेहरु बिरामी छन । धेरैले ज्यान गुमाइसकेका छन र धेरै उच्च जोखिममा छन । नेपालमा पनि झन्डै १५ हजार कोरोना भाइरसका बिरामी पुग्नै लाग्दा सरकारको तर्फबाट हुने महामारी रोकथामका प्रयास र निको भएर घर फर्किनेको संख्या हेर्दा नतिजा राम्रो नै मान्न सकिन्छ ।
तर पनि दीर्घ रोगी हुनेहरु मृत्युको सिकार बन्नु पर्दा यस महामारीले पक्का पनि धेरै नै क्षति नगर्ला भन्न सकिन्न । मैले कोरोन भाइरस लागेपछि भोगेका केहि अनुभव बताउदैछु ।
सुरुवातमा मलाइ सामान्य ज्वरो अनि पुरै शरिर दुख्ने, गल्ने वा थकित महसुस भयो । त्यसको ४/५ दिन सम्म सामान्य ज्वरो आयो र बिस्तारै ज्वरो धेरै बढ्दै गयो । रुघा खोकी केहि थिएन जसको कारण सोचे कि कोरोना होइन । तर १०/१२ दिनपछि थोरै श्वास प्रश्वासमा अप्ठेरो भएको नाक बन्द भएको महसुस गरे । लगत्तै कम्पनीको सहयोगमा सरकारी अस्पतालमा पुगे । पीसीआर श्वाव परीक्षणबाट थाहा भयो कि मलाइ कोरोना पोजेटिभ रहेछ । थोरै चिन्ता भयो तर परिवार अनि साथीभाईको सान्त्वना, सहयोगले गर्दा रोगसँग लड्न सक्ने साहस मिल्यो । केहि दिन सामान्य परासिटामोल सेवन गरे र चिकित्सकको सल्लाह बमोजिम इम्युन बलियो गर्न फलफूल तथा पोषिलो खानेकुरा धेरै खान सुरु गरे । नियमित शारिरिक ब्ययाम, सरसफाइ र मास्क प्रयोग गरे । लगत्तै १४ दिन भित्रै मेरो अर्को परीक्षणमा कोरोना नेगेटिभ देखियो । मतलव म रिकभर भए । अहिले कम्पनीमा काम सुरु गरेको पुरा एक महिना भयो ।
कम्पनी भित्र सामाजिक दुरि कायम गरेर दैनिक हुने काम भैरहेको छ । नेपालमा पनि यहा जस्तै विश्व स्वास्थ संगठनको मापदण्ड अनुसार सुरक्षाका उपायहरु लागु भएका छन वा छैनन थाहा छैन । कोरोनाको उच्च जोखिममा रहेको नेपाल जस्तो गरिव मुलुकले लकडाउन सामना गरेर मात्र महामारीबाट उम्किन सक्दैन । स्वास्थ्य मन्त्रालयको बिशेष भूमिकामा देशभरि पीसीआर परीक्षण, निशुल्क उपचारको जरुरी छ । आइसोलेसनमा, क्वारेन्टिनमा हुने कोरोना बिरामीको सुरक्षा, खानेपानी, सरसफाइसरकारको पूर्ण जिम्मेवारी हुनुपर्छ । कोरोना सामान्य रोग सोच्नु पनि गलत हुनसक्छ ।
सामाजिक दुरी कायम गर्दा, माक्स प्रयोग गर्दा, लगातार हात धुने गर्दा यो भाइरसले हाम्रो शरिरमा प्रवेश पाउनेछैन । नेपालमा रोगले भन्दा त्रास, लापरवाहीले गर्दा सामाजिक जनजीवन कठिन बनेको छ । सरकारको प्रयास अनि हरेक नेपाली जनताको सहयोग, सान्त्वना, सद्भाव, सुरक्षात्मक कृयाकलाप भयो भने कोरोना पुर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । सरकारले जनशक्ति र प्रविधिको प्रयोग गरेर नियमित परीक्षणको दायरा बढाउन जरुरी छ । कोरोना संक्रमित व्यक्तिको पहिचान गर्न मोवाइल एप जनस्तरमा प्रयोगमा ल्याउनु जरुरी छ । सरकारले मात्र होइन, हरेक ब्यक्ति ब्यक्ति बीचको सहकार्यमा मात्र कोरोनाबाट सफलता पाउन सकिन्छ ।
अन्त्यमा यो पनि भन्न चहान्छु कि, सरकारको हरेक नियमको पालना गर्नु एक नागरिकको कर्तब्य हो । लकडाउनको पालना गर्दै, सामाजिक दुरि कायम गर्दै, माक्सको अधिक प्रयोग गर्दै, निरन्तर हात धुने, आफुसँग सम्पर्कमा आएका मानिसहरुको रेकर्ड राख्ने, नियमित सरसफाई, ब्ययाम र पोषिलो खानपीनको तरिका अपनाउनुहोस । एकले अर्कालाइ सहयोगको भावना विकास गर्ने मौका पनि कोरोनाले दिएको छ । (लेखक पूर्व सञ्चारकर्मी हुन् ।)