राक्सिराङका अधिकांश ठाउँका मकैबारीमा बाँदर आतकं
गुगलपाटी संवाददाता कुमारी स्याङ्बो
राक्सिराङ गाउँपालिका वडा नम्बर १ का रमेश स्याङतानले १५÷१६ रोपनी बारीमा अन्न खेती गर्छन् । यतिबेला मकैले घुँगा हालेको छ । दुधालु मकै कोपर्न बाँदरले बल गर्छ । ‘जहाँ मकै खेती छ, त्यहीँ बाँदरको बगालै जान्छ,’ उनले भने, ‘दुःख गरेर मकै फलाएँ, बाँदरबाट जोगाउनै मुस्किल छ ।’
मकै रोप्दा, खन्दा, हुर्काउँदाभन्दा बढी दुःख बाँदरबाट जोगाउन भइरहेको उनले सुनाए । बारी छेउका रूखमा बाँदरको ठूलो बगाल बस्छ । मान्छे भन्दा छिटो बाँदर एक ठाउँबाट अर्को ठाउँमा दौडिन्छ । यताबाट लखेटे उताबाट खाइदिन्छ । यस्तो समस्या परम्परागत होइन । ५ वर्षदेखि बाँदर दुईरचारवटा देखा पर्थे । अहिले त्यो संख्या बढेर ठूलो बगाल नै भएको छ ।
स्याङतानको घरमा श्रीमती, दुई छोरी एक छोरा छन् । छोराछोरी दिउँसो स्कुल जान्छन् । बिहान–बेलुका उनीहरूले बाँदर धपाउँछन् । ‘बिहान–बेलुका हामीलाई घाँस काटन र खाना पकाउनै ठिक्क हुन्छ,’ स्याङतानले भने, ‘बिहान–बेलुका केटाकेटी र दिउँसो हामी खटिन्छौं ।’
मकैले घोंगा हाल्दादेखि पाक्दासम्म गाल्छाराङको रमेश स्याङतानको बारीमा बाँदरको बासै हुन्छ । ‘बारीको छेउमा सानो झुप्रो बनाएको छु, त्यहीं बस्छु,’ उनले भने, ‘हातमा लौरो लिन्छु, बाँदर आए त्यसैले धपाउँछु ।’ गुलेलीमा ढुंगा राखेर हान्दा बाँदर छिटो भाग्ने उनले सुनाए । घरबाट खाना पकाएर ल्याइदिन्छन् । उनले बारीमै भात–भान्सा गर्छन् । ‘दुई पटक त मेरो खाना नै बाँदरले खाइदियो,’ उनले भने, ‘खानाको थाल भुइँमा राखेर पिसाब फेर्न छेउतिर गएको थिएँ, हेर्दाहेर्दै खाइदियो त ।’ बाँदरले महिलालाई टेर्दै नटेर्ने किसानको गुनासो छ ।
झुप्रोमा बिछौना राखेका छन् । चिया पकाउन कित्ली छ । भोक लागे चिया खाने र उभिंदा शरीर दुखे आलोपालो आराम गर्छन् । घरमा ढोका लगाएरै सबै परिवार बारीमा चौकीदारी गर्ने गरेको उनले सुनाए ।
राक्सिराङ २ का मिना वाइबाले घरको थामबाट बारीको छेउको रूखसम्म रस्सी टाँगेकी छन् । बीच–बीचमा टिनका घन्टी छन् । घरबाट रस्सी तानेर हल्लाएपछि घन्टी बज्छ र सरर मकै पनि हल्लिन्छन् । अनि, बाँदर भाग्छ । ‘तर, बाँदरको मुखबाट जोगाउन सजिलो छैन,’ उनले भनिन् । गाउँपालिकाका गाल्छाराङ, सुनारीसौरा, खैराङ र गडुवान लगायतका गाउँमा बाँदरको बिगबिगी छ ।
वर्षामा मकै, बोडी, सिमी, काँक्रो, केरा, मास, भटमास खाइदिन्छन् । खाने मात्रै होइन, झाल छिँनालिदिएर नोक्सान पारिदिन्छन् । वर्षामा मकैबारीमा र हिउँदमा घरमा बाँदरको बास हुन्छ । घरभित्र बाँदर पसेर अन्नपात पोखिदिने, नोक्सान पारिदिने गर्छन् । तरकारी पनि खाइदिन्छन् । ‘बाँदरबाट बाली जोगाएर भित्र्याउन धेरै दुःख छ,’ राक्सिराङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर मोक्तान बताउँछन् ।
गाउँमा बाँदर नआओस भनेरै बारीको छेउमा बुख्याँचा ठड्याइएको छ । त्यो देखेपछि बाँदर झ्याप्प बारीमा पस्न डराउने यहाँका किसानको अनुभव छ । कृषक बाबुराम स्याङ्बोले १० रोपनी बारीमा व्यावसायिक तरकारी खेती गरेका छन् । बाँदर आउन नदिन चारैतिर बारेका छन् । तर पनि उफ्रेर बाँदर छिरिहाल्छ । ‘बाँदरले खुर्सानी र अमिलोबाहेक सर्वस्व खान्छ,’ उनले भने ।
पहिलो सभामा बजेट विनियोजन गरेरै राक्सिराङ गाउँपालिकामा बाँदर हेरालु राख्नुपर्ने अध्यक्ष मोक्तानले बताए । प्रत्येक वडालाई एक–एक लाख रुपैयाँ बजेट छुट्याएर तलबी हेरालु राख्दा कृषकलाई केही राहत हुने उनले भने । त्यसपछि पालिकाले बजेट विनियोजन नगर्दा समस्या भएको छ । तलबी हेरालु राखेर बाँदर नियन्त्रण सम्भव नभएको र बाँदर विशेषज्ञ ल्याएर दीर्घकालीन उपाय खोज्ने तयारी भएको मोक्तानले बताए ।
पहिला देखि गाउँपालिकाका बिकट ठाउँमा बाँदरको संख्या बढ्दो छ । बाँदरले सताएपछि गाउँले जिल्ला प्रशासन र प्रहरीकहाँ पनि धाए । तर, वन्यजन्तु मार्न र लखेट्न कानुनी व्यवस्था नभएकाले केही गर्न नसकिने जवाफ पाएपछि गाउँले निराश छन् । ‘बाँदर मार्ने अधिकार कानुनमा छैन,’ मकवानपुर जिल्ला प्रशासन कार्यलयले जनाइएको छ । ‘त्यसैले बाँदर नियन्त्रणका लागि विकल्प खोजिरहेका छौं ।
बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् । पहाडी भेगमा प्रमुख अन्नबाली मकै खेति गर्छन् । गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो बन्दै गएसंगै बाँदर धपाउन समस्या भएको छ । महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा पटकपटक हैरानी परेको गनासो बाँदर पीडितले गर्दै आएका छन् । किसानहरुका वर्षमा ५÷६ मुरि मकै नष्ट गर्दछ ।
बाँदरलाई गाउँबाट धपाउन निकै मुश्किल बन्दै गएपछि आफूहरुले भरुवा बन्दुकसहित बाँदर नियन्त्रण गर्न पाउनुपर्ने प्रमुख माग राखेका छन् । वर्षभरि खाने पहाडी भेगको अन्नबाली नोक्सानी गरेपनि बाँदर पीडित संगठित भएका हुन् । राक्सिराङ गाउँपालिका–१ का मिथुन रुम्बाले मकै र अन्नबाली नष्ट गरेसँगै किसानको मेहनत विफल भएको गुनासो पोखे । मकै बाली भित्राउने समयसम्म बाँदरबाट मकै जोगाइदिनका लागि सांसद तथा गाउँपालिका प्रमुखसँग बाँदरपीडितले अनुरोध गरे ।
राक्सिराङ गाउँपालिका अधिकांश घरपरिवार मकैबारीमा बाँदरको बगाल बस्तीमा पसेपछि मकै नष्ट गरेको स्थानीय बासिन्दा रामबहादुर सुनारले गुनासो गरे । बाँदरपीडित मोक्तानले एउटा बगाल बाँदरलाई गाउँबाट धपाए पनि अर्को बगाल कताबाट आउँछ, थाहा नै हुँदैन, मकै, तरकारी बाली उत्पादन गरे पनि बाँदरले नष्ट गरेको गुनासो गाउँपालिका अध्यक्ष राजकुमारलाई एक साथ पोखे।