१४ दिनमा बागमती प्रदेशका ४५ सय स्वदेश फर्किए
गुगलपाटी संवाददाताकोरोना महामारीका कारण विदेशमा रहेका नेपाली फर्किने क्रम जारी छ । सरकारले होल्डिङ सेन्टरमा रहने गरी उद्धार गर्न सुरु गरेपछि विदेशबाट फर्किनेको क्रम बढेको हो । पछिल्लो १४ मा मात्रै बागमती प्रदेशका विभिन्न जिल्लाका चार हजार पाँच सय २१ जना स्वदेश फर्किएको होल्डिङ सेन्टरका प्रतिनिधि सञ्जय सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार ३ देखि १७ असारसम्म विदेशबाट फर्किएका चार हजार पाँच सय २१ जनालाई काठमाडौंको पानस बेंक्वेट्सर यती पार्टी प्यालेसमा होल्ड गरिएको थियो । ‘स्वदेश फर्किएकालाई प्रदेशअनुसार तोकिएको होल्डिङ सेन्टरमा बढीमा एक घन्टा राख्ने गरिएको छ,’ सुवेदीले भने, ‘त्यसपछि सम्बन्धित स्थानीय तहको होल्डिङ सेन्टरमा पठाइएको छ ।’
१७ असारसम्म यतीमा तीन हजार एक सय २१ र पानसमा एक हजार चार सयजनालाई राखिएको थियो । स्थान अभावका कारण भक्तपुर र काभ्रे निवासीलाई प्रदेश १ को होल्डिङ सेन्टरमा पठाइएको र ललितपुरका सबैलाई ललितपुरकै सेन्टरमा पठाइएको सुवेदीले जानकारी दिए । मकवानपुर, धादिङ, चितवन, नुवाकोट, रसुवा घर भएकाहरूलाई पानसमा र रामेछाप, सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीकालाई यतीमा राखिएको छ ।
हालसम्म कुवेत, दक्षिण कोरिया, बंगलादेश, दुवई, मलेसिया, साउदी, कतार, माल्दिभ्स, बहराइन, पाकिस्तान, थाइल्यान्ड, अमेरिका, युके, जापान, युएई, हङकङ र अष्ट्रेलियामा रहेकाहरू बागमती प्रदेश निवासी स्वेदश फर्किएको सुवेदीले जानकारी दिए ।