स्वास्थ्य रहन ५ को फर्मुला अपनाउनुस्

गुगलपाटी संवाददाता
१० जेष्ठ २०७५ ०५:२७

अहिलेको वातावरणमा स्वस्थ जीवन जिउनु निकै चुनौतीपूर्ण छ । पछिल्लो समय युवा उमेरकै मानिसमा पनि निकै खतरनाक रोग देखिन थालेका छन् । हृदयाघातका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । अव्यवस्थित जीवनशैली र खानपानका कारण मानिसमा सामान्यदेखि खतरनाक स्वास्थ्य समस्या पनि देखिन थालेका छन् । यद्यपि, जहिले पनि मानिस स्वस्थ रहन भने चाहन्छ । स्वस्थ रहनका लगि डा. ओममूर्ति अनिलसँग पाँचको फर्मुला छ । एक दिनदेखि एक वर्षसम्मका पाँचका फर्मुला यस्ता छन् :

वर्षमा पाँच हजार
हामीले स्वास्थ्यका लागि बचत गरेको त्यति पाइँदैन । शरीरमा कुनै समस्या नदेखिँदासम्म स्वास्थ्य जाँच गर्ने पनि कमै छन् । त्यसैले वर्षमा मानिसले पाँच हजार रुपैयाँ स्वास्थ्यका लागि छुट्याउनुपर्छ । यति रकमले सुगर, कोलेस्ट्रोल, रक्तचाप जाँचका लागि पुग्छ । २० वर्षभन्दा बढी उमेरका मानिसले त अनिवार्य रूपमा जाँच गर्नुपर्छ । यस्तो जाँचले हृदयाघातको समस्यालाई धेरै हदसम्म रोक्ने काम गर्छ । यदि श्वासप्रश्वासमा समस्या छ भने त अझ चिकित्सकको निगरानीमा बस्न जरुरी हुन्छ ।

पाँच किलो तौल
नेपालका अधिकांश मानिसमा बढी तौलको समस्या छ । त्यसैले वर्षमा पाँच किलो तौल घटाउन अठोट गर्न आवश्यक हुन्छ । यसरी तौल घटाउँदा सुगर, प्रेसर, कोलेस्ट्रोल पनि घट्छ । तर, कम तौल छ भने त त्यसलाई दोहो-याउन जरुरी हुँदैन ।

महिनामा पाँचपटक
मासु हाम्रो शरीरका लागि त्यति फाइदाजनक छैन । धेरैले हप्तामा दुईपटकभन्दा बढी मासु खाने गरेको पाइन्छ । तर, महिनामा पाँचपटक भन्दा कम मासु खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

महिनामा पाँच पेग
व्यक्तिगत रूपमा मदिरा नखान सल्लाह दिन्छु । खाने बानी छ भने पनि त्यसलाई नियमित रूपमा घटाउनुपर्छ । यदि खाइहाले पनि महिनामा पाँच पेगभन्दा बढी मदिरा सेवन गर्नुहुँदैन ।

हप्तामा पाँच घन्टा
हामी स्वस्थ रहन हिँड्न आवश्यक हुन्छ । कम्तीमा पनि हप्तामा पाँच घन्टा हिँड्नैपर्छ ।
परिवारमा पाँच मिनेटहप्तामा पाँच मिनेट परिवार र स्वास्थ्यको समीक्षा गर्न जरुरी हुन्छ । स्वास्थ्यबारे छलफलको विकास गर्न अत्यावश्यक छ । त्यसैले कम्तीमा हप्तामा पाँच मिनेट परिवारसँग बसेर एक–अर्काको बिपी जाँच्ने, स्वास्थ्य जाँच गराएको छ कि छैन या कसैलाई समस्या पो हुन थालेको छ कि, औषधिको सेवन गरेको छ या छैन, यस्ता विषयमा छलफल गर्दा निकै उपयोगी हुन्छ ।

दैनिक पाँच डिजिट
ए – प्रत्येक दिनको सुरुवात रिसाउँदिनँ भनेर सुरु गर्नुपर्छ । कहिल्यै पनि हामी एंगर हुनुहुँदैन । हाम्रो दैनिकीबाट एंगरलाई टाढा राख्नुपर्छ ।

बी – बी पोजेटिभ हुनुपर्छ । नेगेटिभ कुरा सोच्नै हुँदैन र हरेक कुरालाई पोजटिभ रूपमा लिनुपर्छ । नकारात्मक कुराले डिस्याटिस्फेक्सन बनाउँछ । र, नेगेटिभ कुराले दुःखी पनि बनाउँछ । हामी कसैबाट पनि शतप्रतिशतको अपेक्षा गर्नुहुँदैन । यस्तो अपेक्षाले नेगेटिभिटीको विकास गर्न सक्छ । यसबाट पाठ सिक्नुपर्छ कि शतप्रतिशत शुद्ध अक्सिजन लिँदा पनि हामी मर्छौं ।

सी – चुरोट खाने बानी छ भने हटाइहाल्नुहोस् । चुरोट खाने मानिस क्यान्सर हुने अवस्थासम्म पुग्नै सक्दैन, पहिले नै हृदयाघातले मृत्यु भइसक्छ ।
डी– डेली एक्टिभिटिजमा स्ट्रेस लिनुहुँदैन । कतिपयलाई महत्वकांक्षा र समय व्यवस्थापन गर्न नसक्दा स्ट्रेस हुने गर्छ । तर, स्वस्थ जीवनका लागि सकेसम्म स्ट्रेस नलिनतर्फ लाग्नुपर्छ ।

ई – हामीले इन्टरटेनमेन्ट आर्थात् मनोरञ्जनमा पनि ध्यान दिनुपर्छ । यसले स्वास्थ्यमा फाइदा पुग्छ । आफू रमाउन सक्ने कुनै न कुनै विषय छनोट गर्नुपर्छ र केही समय भए पनि मनोरञ्जनतर्फ लाग्नुपर्छ ।

ओममूर्ति अनिल, हृदयरोग विशेषज्ञ ग्रान्डी इन्टरनेसनल अस्पताल 

साभार नयाँ पत्रिका