हेटौंडा क्याम्पसको ११औं सभा सम्पन्न

गुगलपाटी संवाददाता
२९ असार २०७७ ११:२४

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको हेटौँडा क्याम्पसको ११औं क्याम्पस सभा सम्पन्न भएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि मन्त्री दुलालले सामुदायिक क्याम्पसहरुले उच्च शिक्षामा दिएको योगदानको प्रशंसा गरे । मन्त्री दुलालले प्रदेश सरकार “सामुदायिक क्याम्पसको सुदृढीकरण अभियान” मार्फत् सामुदायिक क्याम्पसको विकास योजना निर्माण गरी क्रमशः कार्यान्वयनको चरणमा रहेको बताए ।

प्रदेश सरकार सामुदायिक क्याम्पसहरुमध्ये भौतिक र शैक्षिक गुणस्तरमा अब्बल क्याम्पसलाई प्रदेश विश्वविद्यालय र अन्य योग्य क्याम्पसलाई प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने योजनामा रहेको मन्त्री दुलालले बताए । आजकाल समाजमा सकारात्मकभन्दा नकारात्मक कुराहरु चाँडो फैलिने गरेकोमा यस्तो परिपाटिको अन्त्य गर्दै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।

सभाले कोषाध्यक्ष कमानसिंह पाख्रिनले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयव्यय विवरण, छात्रवृत्ति उपसमितिका संयोजक प्रदीप कोइरालाले प्रस्तुत गरेको छात्रवृत्ति उपसमितिको प्रतिवेदन, सेवा समितिका संयोजक बद्रीनाथ शर्माले प्रस्तुत गर्नुभएको सेवा समितिको प्रतिवेदन, शैक्षिक गुणस्तर अभिवृद्धि उपसमितिका संयोजक पुरणबहादुर जोशीले प्रस्तुत गरेको शैक्षिक प्रतिवेदन तथा खरिद तथा निर्माण उपसमितिका संयोजक श्यामसुन्दर ढकालले प्रस्तुत गरेको खरिद तथा निर्माण उपसमितिको प्रतिवेदन छलफलसहित पास गरेको छ ।

सभामा बागमती प्रदेश सभाका सांसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का अध्यक्ष नवीन सिग्देल, नेपाली काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने, पूर्व विद्यार्थी समाज हेटौँडा क्याम्पसका अध्यक्ष बालकृष्ण चौलागाईं, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष उमेश पुरी, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष भूपेन्द्र कोइराला, कर्मचारी संघका अध्यक्ष प्रकाश दाहाल, भूटनदेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल, यु।रे।स। हेटौँडा क्याम्पसका सचिव दिपेश लामिछाने, विद्यार्थी सङ्गठनका प्रतिनिधिहरु लगायतको आतिथ्य रहेको थियो ।