३८ क्वीन्टल सुन तस्करी प्रकरण ःअभियुक्तको आरडीटी पोजिटिभ आएपछि अदालतले फिर्ता पठायो
गुगलपाटी संवाददाताअनुसन्धानका क्रममा खुलेको करिव ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका अभियुक्त हरिशरण खड्कालाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ। तर उनीमाथिको कारबाहीको सबै प्रक्रिया तत्काललाई रोकिएको छ। आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएपछि थप प्रक्रिया रोकेर अदालतले उनलाई फिर्ता पठाएको हो। गत शनिबार पक्राउ परेका सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई आइतबार राति ११ बजे मोरङ ल्याइपुर्याइएको थियो।
उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। कारबाही प्रक्रिया अघि बढाउने क्रममा प्रहरीले उनलाई सोमबार बुझाए पनि अदालतले पिसीआर विधिबाट परीक्षण गरेर रिपोर्टसहित उपस्थित गराउन अनुमति दिएर फिर्ता पठाएको छ। प्रहरीले कुनै घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाउनु अघि कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न आरडीटी परीक्षण गर्ने गरेको हो।
अदालतले फिर्ता पठाएपछि सुन तस्करी र शाक्य हत्या प्रकरणका अभियुक्त खड्काको बयान लिनेदेखि लिएर सबै काम तत्काललाई रोकिएको छ। पिसीआर विधिबाट परीक्षण गरेपछि रिपोर्टसहित उनलाई अदालतमा पुनः पेस गरिने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। एसपी खड्काका अनुसार पिसीआर परीक्षणका लागि उनको स्वाब संकलन भइसकेको छ। अभियुक्त खड्कालाई कोही कसैको सम्पर्कमा नहरने गरी तत्काल आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए।
अदालतका स्रेस्तेदार इश्वरमणि ओझाले खड्काको पिसीआर रिपोर्ट आएपछि मात्रै कारबाहीको बाँकी प्रक्रिया अघि बढ्ने जानकारी दिए। ‘अदालतको आदेशअनुसार पिसीआर विधिबाट परीक्षण गरेर रिपोर्टसहित प्रहरीले बुझाउने छ’ उनले भने ‘त्यसपछि मात्रै अदालतबाट बयानलगायत कारबाहीको थप प्रक्रिया अघि बढ्ने छ।’
प्रहरी स्रोतका अनुसार उनलाई दुबईमै हुँदा कोरोना संक्रमण भएको थियो। उपचारपछि निको भएर नेपाल आउने क्रममा ‘इन्टरपोलको रेकर्नर नोटिस’मा रहेका खड्कालाई शनिबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो। १४ वर्ष अघि कामदारका रुपमा दुबई गएका काभ्रे बेथानचोक गाउँपालिका(४ घर भएका ४२ वर्षीय खड्का सुन प्रकरणपछि भने उतै लुकेर बसेका थिए। फरार सूचीमा राखेर उनको खोजी भइरहेको थियो।
मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती समूहले दुबईबाट २०७४ साल माघ ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको थियो। अनुसन्धानबाट हराएकोसहित अरु पनि सुन तस्करीमा खड्काको संलग्नता रहेको पत्ता लगाएको थियो। तस्करीको सुन गायब भएपछि गोरे समूहले यातना दिएर २०७४ साल फागुन १९ गते शाक्यको हत्या गरेपछि घटना बाहिर आएको थियो। अहिलेसम्म पनि उक्त सुन कहाँ छ भन्नेबारेमा केही खुलेको छैन्।
सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले मोरङ प्रहरी हुँदै सरकारी वकिल कार्यालयमार्फत २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर गरेको थियो। सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम ९करिब ३८ क्वीन्टल० अवैध रुपमा सुन आयात गरिएको दाबी गरिएको छ।
सुन तस्करीमा प्रहरीका उच्च अधिकारीको पनि मिलेमतो रहेको खुलेको थियो। पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकाशराज खनाल, डीएसपीहरु प्रजित केसी, सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेललगायत छानबिनमा तानिएका थिए।