बागमती प्रदेशमा होम क्वारेन्टाइनमा बस्ने १ हजार ६ सय ८८
गुगलपाटी संवाददाताबागमती प्रदेशका १३ जिल्लामा होम क्वारेन्टाइनमा बस्नेहरु १ हजार ६ सय ८८ जना रहेका छन् । कोरोनाको संका लागेका र विदेशबाट फर्किएकाहरुलाई अस्पतालमा जाँच पछी होम क्वारेन्टाइनमा पठाइएको हो ।
होम क्वारेन्टाइनमा सुरक्षित ढंगले वस्नका लागि धेरैलाई समस्या परेको छ । यता क्वारेन्टाइनमा पनि एक हजार ८ सय ४१ जना रहेका छन् । स्थानीय तह र प्रदेश सरकारले स्थापना गरेका क्वारेन्टाइनमा राख्ने भन्दा पनि अहिले होम क्वारेन्टाइनलाई प्राथमिकता दिइएको छ ।
बागमती प्रदेशका विभीन्न जिल्लामा स्थापना गरिएका आइसोलेसनमा भने ४ सय ३२ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।
घरमा कति सुरक्षित रु
ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डेले अस्पताल र छुट्टै क्वारेन्टाइनमा जस्तो घरमा सुरक्षित हुने सम्भावना कम हुने बताए । ‘अस्पताल र होल्डिङ सेन्टरमा बसेजस्तो सुरक्षित त अलि हुँदैन,’ उनले भने, ‘मलाई केही लक्षण पनि छैन भनेर संक्रमित घरबाट निस्क्यो भने अवस्था झन् भयावह हुन सक्छ । नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा राख्नुपर्ने हुन्छ ।’ किरियापुत्री जस्तो कसैलाई नछोई टाढै बस्ने हो भने अस्पतालभन्दा घर ठीकै हुने उनको तर्क थियो ।
संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीका अनुसार लक्षणविहीन संक्रमित घरको आइसोलेसनमा बस्नु सर्वथा बेठीक होइन । तर यसरी घरको आइसोलेसनमा बस्दा केही महत्त्वपूर्ण विषयमा ध्यान नपुर्याए समस्या आउन सक्छ । ‘घरमा बस्ने संक्रमितको नियमित निगरानी गर्ने व्यवस्था कस्तो छ, त्यो निकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘संक्रमितको श्वासप्रश्वासको दर तथा रगतमा अक्सिजनको मात्रा कति छ भनेर याद गरिरहनुपर्छ । त्यसमा तलमाथि भए अक्सिजन चाहिन सक्छ । यस्तोमा अस्पताल लान ढिला गर्नु हुँदैन ।’
डा। सुवेदीका अनुसार आईसीयू सेवा उपलब्ध अस्पताल नजिक छ भने घरमा बस्नु ठीकै हो । घरबाट अस्पताल टाढा छ भनेचाहिँ आइसोलेसन सेन्टर वा अस्पतालकै निगरानीमा बस्नु कम जोखिमयुक्त हुन्छ । ‘कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो । त्यसैले घरमा बस्दा पनि निगरानीमा बस्नु जरुरी हुन्छ,’ उनले भने ।
अस्पतालको आइसोलेसनमा रहँदा खाना र बस्न अप्ठ्यारो हुने भन्दै केही दिनयता सर्वसाधारण घरकै आइसोलेसनमा बस्न चाहने गरेको डा। पाण्डेको दाबी छ । ‘उनीहरूले हामीलाई कुनै लक्षण छैन, घरमै बस्छु भन्छन्,’ उनले भने, ‘सरकारले पनि घरको आइसोलेसनमा बस्नका लागि मापदण्ड बनाएको छ । त्यो मापदण्डअनुसार बस्न नमिल्ने भने होइन ।’डा। सुवेदीका अनुसार भने घरको आइसोलेसनमा बस्दा सावधानी अपनाउँदा अपनाउँदै पनि परिवारका अन्य सदस्यलाई सर्ने जोखिम हुन्छ । त्यसैले सरकारले तोकेको सेन्टरमा बस्नु नै ठीक हुन्छ । ‘सबैले सुरक्षाको विधि अपनाउँदैमा शतप्रतिशत सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी छैन,’ उनले भने, ‘अमेरिका जस्तो ठाउँमा पनि घरको आइसोलेसनले असुरक्षा बढाएको हो कि भन्ने गुनासो सुनिन थालेको छ । रोकथामका सबै उपाय अपनाइएका सहरहरूमा पनि संक्रमणको दर बढ्नुको कारक यही हो कि भन्ने छ ।’
घरको आइसोलेसनका मापदण्ड
घरको आइसोलेसनमा बस्नेहरू पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्छ र संक्रमणमुक्त नभएसम्म बाहिर निस्कनु हुँदैन । उनीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री परिवारका अन्य सदस्यले व्यवस्था गरिदिनुपर्छ । उनीहरूले प्रयोग गरेका भाडा राम्रोसँग सफा गरेर सुकेपछि मात्रै पुनः प्रयोग गर्नुपर्छ भने स्नान घर तथा शौचालयको पनि छुट्टै व्यवस्था हुनुपर्छ । एउटै शौचालय छ भने संक्रमितले प्रयोग गरेपछि डिस्इन्फेक्टेन्टले सफा गरेपछि मात्रै अरूले प्रयोग गर्नुपर्छ ।
संक्रमितले दाँत माझ्न प्रयोग गर्ने ब्रसलगायतका व्यक्तिगत सामग्री छुट्टै राख्ने व्यवस्था गर्नुपर्छ । संक्रमितहरूको नियमित सम्पर्कमा आउने ढोका, ढोकाका ह्यान्डल, टेबललगायतका सामग्री पनि डिस्इन्फेक्टेन्ट प्रयोग गरेर समय–समयमा सफा गरिरहनुपर्छ । घरका सबै सदस्यले समय–समयमा नियमित हात धुनुपर्छ भने संक्रमितले आफ्नो कोठामा रहँदा पनि मास्क प्रयोग गर्नुपर्छ ।
संक्रमितलाई घरमा रहेका ६० वर्षमाथिमा व्यक्ति, दीर्घरोगी र बालबालिकाबाट टाढा राख्नुपर्छ । परिवारले संक्रमितको स्वास्थ्य अवस्थाबारे कम्तीमा दिनको दुईपटक सम्बन्धित स्वास्थ्यकर्मी र संस्थालाई जानकारी गराउनुपर्छ । संक्रमितलाई श्वासप्रश्वासमा कठिनाइ भए, छाती दुखे वा भारी भए, ओठ तथा अनुहार नीलो देखिए, होस हराए तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी गराएर अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ ।