बागमती प्रदेशमा प्रहरी भर्ना गर्ने बाटो खुल्यो
गुगलपाटी संवाददाताबागमती प्रदेशमा प्रदेश सरकार मातहत प्रहरी भर्नागर्ने बाटो खुलेको छ । बागमती प्रदेश सभाको आज बसेको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमतिले पारित गरेसंगै प्रदेश सरकार मातहतको प्रहरी भर्ना गर्ने बाटो खुलेको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो ।
प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेलले सो विधेयक पारित गरियोस् भनि प्रस्तुत गरेको प्रस्ताब सर्वसमतिले पारित भएको हो ।
सोही बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रहरी विधेयक पारित गरिएपछि कानूनमन्त्री जम्मकट्टेलले संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनको साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकोमा खुसी व्यक्त गर्नुभयो ।