कोरोना भाइरसः खेल प्रतियोगिता ठप्प

गुगलपाटी संवाददाता
६ श्रावण २०७७ ०९:१६

कुमारी स्याङ्बो
हेटौंडाः कोरोना भाइरसको जोखिम कम गर्न गरिएको लकडाउनका कारण नेपालका एक दर्जन ठुला खेल प्रतियोगताहरु स्थगित भएका छन् । मकवानपुरका खेलकुद प्रतियोगिताको सफल आयोजना र त्यसमा मकवानपुरका खेलाडीहरुले प्राप्त गरेको सफलताले खेलकुदतर्फ आम चासो बढेको बेला कोरोना भाइरस प्रकोपले ब्रेक लगाइएको छ ।
विश्वकै खेलगतिविधिहरु ठप्प भएको बेला नेपालको अवस्था पनि त्यस्तै भएको छ । कोरोना भाइरस सङ्क्रमणको खतराका कारण नेपालमा सक्रिय खेलको सुचीमा रहेको फुटबलका इभेन्ट्सहरु सबैभन्दा बढी प्रभावित भएको देखिएको छ । फुटबलको महत्वपुर्ण अन्तराष्ट्रिदेखि राष्ट्रिय प्रतियोगिताहरु समेत प्रभावित भएका छन् ।
मकवानपुरमा तेस्रो सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता चैत्र २९ गते हुने लकडाउनले गर्दा खेल स्थगित भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिएको हो ।
चैत्र महिनामा स्कुल लिग, जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको थियो कोरोनाका त्रासले खेल रोकियो । त्यस्तै फुटबल संघले आय व्यायको लागि साधारण सभा गर्न नपाएको समेत लामाले बताए ।
मकवानपुर फुटबल संघले लकडाउन खुल्न साथ रेफ्रि ट्रेनिङ्, एनफा ट्रेनिङ् सेन्टर बनाउने योजना गरेका छन् । हालको अवस्था हेर्ने हो भने संघको आर्थिक अवस्था कमजोर रहेको छ ।
राष्ट्रिय ट्रिममा मकवानपुरका ४ जना खेलाडीहरु रहेका छन् । त्यस्तै जिल्लामा ३३ वटा फुटबल क्लब रहेको लामाले बताए । संघले गरिब विपन्न वर्गका खेलाडीहरुलाई राहत वितरण पनि गरेका छन् । एउटा क्लबको १÷२ जना गरि ५० जनालाई राहत वितरण गर्ने भएको छ । मकवानपुरका खेलाडीहरु आफनै तरिकाले घरमा वा चौरमा फुटबल खेलिरहेका छन् ।
अध्यक्ष लामा भन्छन्, कोरोना भाइरसबाट छुटकारा नपाएसम्म अर्को योजना बनाउने कुरै भएन । हामी अब राष्ट्रिय खेलकुद परिषदको निर्णय हेरेर मात्र कार्यक्रम बनाउछौ ।
लामाका अनुसार अब राष्ट्रिय लिगको योजना रदद् हुने सम्भावना धेरै छ । कोरोना भाइरसको असरका कारण आगामी दिनमा एन्फाले नपाउने अन्तराष्ट्रिय सहयोगमा समेत असर पर्ने चिन्ता बढेको छ ।
स्वस्थ, अनुशासित नागरिकको विकासबाट समृद्ध समाजको सिर्जना गर्ने कार्यमा खेलकुदलाई प्रमुख आधारको रूपमा लिइन्छ । राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न र विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवम् समुदायबीच एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन खेलकुदको योगदान महत्वपूर्ण रहेको हुन्छ ।
खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यता अनुरूप विकास र विस्तार गर्दै खेल संस्थाहरूबीच समन्वय, सहकार्य र साझेदारीको वातावरण सिर्जना गरी खेलकुदलाई जनजीवनको अभिन्न अंग बनाउन “राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद र सबैका लागि खेलकुद” को अवधारणालाई मूर्तरूप दिने कार्यमा खेलकुदका राष्ट्रिय संघहरुको भूमिका निकै महत्वपूर्ण रहेको अध्यक्ष लामाको भनाई छ ।
खेलकुद क्षेत्रको विकासका लागि नीति निर्माण गर्ने, नीति कार्यान्वयनका लागि योजना तर्जुमा गरी कार्यान्वयनको व्यवस्था मिलाई सोको अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने, खेलकुद क्षेत्रको विकासका लागि सम्बन्धित विषयको अध्ययन, अनुसन्धान, खेलकुद क्षेत्रको समग्र विकासका लागि पूर्वाधार निर्माण, संरक्षण, प्रतियोगिता सञ्चालन खेलाडी एवं प्रशिक्षकलाई प्रशिक्षण तथा प्रोत्साहनका कार्यहरूको व्यवस्थापन र सहजीकरणको नेतृत्व गर्दै आएको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत खेलकुद हेर्ने स्वायत्त निकायका रुपमा स्थापित राष्ट्रिय खेलकुद परिषदमा खेलकुदका राष्ट्रिय संघहरुको दर्ता र नवीकरणको कार्य हुने लामाको भनाई छ ।