मकवानपुरको भीमफेदी खोप्लाङमा पहिरो हटाईयो
गुगलपाटी संवाददातात्रिभुवन राजपथ अन्तरगत खोप्लाङमा झरेको चट्टान सहितको पहिरो हटाईएको छ । भिमफेदी गाउँपालिका १ खोप्लाङमा गएराती करिब ११ बजे सडक माथीबाट झरेको ठुलो ठुलो चट्टान सहितको पहिरो करिब ८ घण्टापछि हटाईएको हो ।
प्रहरी र सेनाको सक्रियतामा लोडरले सडकमा झरेको पहिरो हटाइएको हो । पहिरो झरेपछि दुबै तर्फ निक्कै लामो गाडीको जाम भएको थियो । पहिरो पन्छाएपनि सडक एकतर्फी रुपमा गाडी सञ्चालनमा आएको छ । पहिरोबाट सडकको छेउमा क्षती पुगेको छ ।
पहिरो लडेका कारण हिजो राती देखि सडकमा अलपत्र परेका सयौ यात्रु आज बिहान बल्ल गन्तव्यमा गएका छन् । पुर्वपस्चिम राजमार्ग र हेटौंडा काठमाण्डौ छोटो दुरीको मार्गमा पहिरो लडेका कारण सडक अवरुद्ध हुनेखालका समस्याले गर्दा त्रिभुवन राजपथ भएर साना ठुला सवारीका साधन ओहोर दोहोर गर्दै आएका छन् । तर, पहिरो लडेका कारण धेरै समस्या भएको थियो । पहिरो पन्छाएपछी सवै सवारीका साधनहरु गन्तव्यमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।