जो सपनामा पनि घर जलाइएकै देख्छन्

गुगलपाटी संवाददाता
८ श्रावण २०७७ ०४:३८

अविरल वर्षा र बाढीपहिरोले चारैतिर वितण्डा मच्चाइरहेका बेला निकुञ्जले घरमा आगो लगाइदिएपछि माडी, कुसुमखोलाका चेपाङ समुदायको बिचल्ली भएको छ । घर छाडेर कहीँ निस्कन नसकिने मौसममा घरै खरानी भएपछिको आपत्ले उनीहरूको सातो लिएको छ । पूरै समुदाय तनावमा छन् । आगलागीबाट बिचल्लीमा पर्नेमध्येका एक हुन्– ५१ वर्षीय काजीमान चेपाङ ।

चितवनको पहाडी गाउँ लोथर नेत्राङमा ०४८ सालमा पहिरोले पाखोबारी लगेपछि जहान परिवार पाल्न भौंतारिने क्रममा उनी कुसुमखोला आइपुगेका हुन् । कहिले यहाँ आइपुगें भन्ने उनलाई याद छैन । ‘०५३र५४ सालमा आएँ हुँला,’ उनले आफू तराई झरेको समय अनुमान लगाए । आएकै बेला एउटा छाप्रो हाले, जुन उनको मूल घर थियो । काजीमानका सात जनाको परिवारलाई लामो समय घाम, पानी र शीतबाट जोगाएको त्यो मूलघर अहिले खरानी भएको छ । गत शनिबार मध्याह्न हात्ती चढेर आएका चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सेनाले उनको घरमा आगो झोसिदिएका थिए ।

निकुञ्जले कुसुमखोला बस्तीलाई अतिक्रमित क्षेत्र मान्दै आएको छ । बस्ती उठाउने चर्चा पहिल्यैदेखि चलेको हो । दुई–चार वर्षयता गाउँले आफैं धमाधम बस्ती छाड्दै जान थालेका पनि थिए । त्यहाँबाट गएकालाई माडी नगरपालिकाले घर बनाएर राख्ने भन्ने काजीमानले नसुनेका हैनन् । आफ्ना साथी, छिमेकीहरू गएर बसेको नयाँ बस्ती हेर्न उनी पनि गएका थिए । झर्ने मन बनाएका थिए तर बर्खा लागिहाल्यो । छरेको मकै स्याहार्ने र हिउँदमा झर्ने योजना बनाउँदै थिए । १६० घरपरिवार तल झरेर भरतपुर–माडी–ठोरी हुलाकी सडकको आडका गाउँ–टोलमा बस्न थालेका थिए । उनीसहित १० जनाको परिवार ९घर० झर्न बाँकी थियो । ‘लौ तल नसर्नेहरूलाई हात्ती नै ल्याएर लखेट्छ रे’ भन्ने गाइँगुइँ नचलेको हैन तर आइहाल्ला भन्ने उनलाई लागेको थिएन । शनिबार गाउँलेले छरेको मकै नोक्सान गर्दै हात्ती आयो । हात्तीको लस्कर उनको घर सामुन्ने आइपुग्यो ।

हात्तीमाथि बसेकाहरूले लाइटरबाट आगो सल्काए । ‘हेर्नुस्, सुरुमा एउटा हात्ती आयो अनि धकेल्न थाल्यो । त्यसले मानेन । फेरि अर्को हात्ती पनि आयो । दुईवटा हात्ती आएर आगो लगायो,’ काजीमानले भने ।

उनका छोरा दानबहादुरले कमाएर ल्याएको १० हजार रुपैयाँ त्यही घरमा राखेको थियो । आगो झोसिएपछि उनलाई त्यसको ख्याल आयो । ‘हात्ती आएको छ, हात्तीमाथि नयाँ–नौला मान्छेहरू छन्’ भन्दै गाउँका केटाकेटी मात्रै हैन अरू पनि डराए, चिच्याए । ‘एक जना सरलाई भनें पनि,’ उनले सुनाए, ‘तर आगोको लप्का बढिसकेको थियो । केही गर्न सकिएन ।’

दिउँसो तल झरेका छोरा दानबहादुर साँझ घर आए । उनले पैसासँगै नागरिकता पनि भएको सुनाए । छोराको कमाइ र नागरिक पहिचानपत्र दुवै आगोले खाएपछि काजीमानलाई ठूलो चोट लागेको छ ।

उनले मूल घर मानिआएको छाप्रो अगाडि अर्को सानो छाप्रो पनि बनाएका थिए । ‘त्यहाँ मकै छ, खान राखेको थोरै–धेरै अन्न छ, हाम्रो नागरिकता पनि छ, मलाई कतै त्यो पनि जलाउने हुन् कि भन्ने लाग्यो,’ उनी भन्छन्, ‘एउटा सरले त लाइटर मागेर त्यहाँ पनि झोस्नै थालेका थिए । अर्को सरले हेरेर मकै रहेछ भनेपछि आगो लगाएनन् ।

माडीबाट कुसुमखोला जाँदा काजीमानभन्दा पहिला दीपबहादुर चेपाङको घर आउँछ । दीपबहादुरको घरमा पनि निकुञ्जको टोलीले आगो लगाएको थियो । बुधबार दीपबहादुर दम्पती गाउँमा थिएनन् । उनीहरूका १७ वर्षका छोरा विश्राम चेपाङ जलेको आफ्नो घरभन्दा केही पर काजीमानकै घरको आडमा भेटिए । घर जल्दाको दिन उनी कुसुमखोलामा थिएनन् । घर भत्केपछि बा, आमा र आफू गाउँमै अरूको घरमा रात कटाउने गरेको उनले बताए । उनी खुलेर कुरा गर्न सक्ने अवस्थामा छैनन् ।