हेटौंडामा ३ हजार ५८ ले रक्तदान गरे
गुगलपाटी संवाददाताहेटौंडाः हेटौंडामा हरेको ब्लड बैंकमा आव २०७६÷७७ मा ३ हजार ५८ जनाले रक्तदान गरेका छन् । आव २०७५÷७६ मा २ हजार ७ सय ३९ जनाले रक्तदान गरेका थिए । लकडाउनको अवस्थामा पनि अघिल्लो आवभन्दा बढि रगत संकलन गर्न बैंक सफल भएको छ ।
गत वर्षभन्दा यस वर्ष रक्तदाता बढेको हेटौंडा रक्तसञ्चार केन्द्र प्रमुख टंक दाहालले बताए । आव ०७६÷७७ मा संकलन भएको रगत हेटौंडाका अस्पतालमा २ हजार ६१ युनिट खपत भएको दाहालले जानकारी दिए ।
भरतपुर अस्पतालमा ८ सय १० युनिट रगत पठाएको उनले बताए । लहानमा ६० युनिट रगत पठाएको थियो । हेटौंडा उपमहानगरपालिकामा भएको ७९ संघसंस्थाले आफनो वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको प्रमुख दाहालले बताए ।
रक्तदान गर्ने संघसस्ंथाहरु बढेको हुँदा हाल रगतको खासै अभाव नदेखिएको उनले बताएको छ । उनले रक्तदान गर्ने सबै संघसंस्थालाई धन्यवाद दिएका छन् ।
रक्तसञ्चार प्रमुख दाहालले रगतको माग बढ्दो क्रममा रहेको बताए । हेटौंडामा अस्पतालको विकास संगै रगतको माग पनि बढेको उनको भनाई छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले भिडभाड नगर्न आग्रह गरेको हुँदा एक महिना रगत संकलन गर्न हम्मेहम्मे परेको थियोे ।
तर विभिन्न संघसंस्थाहरुले सावधानी अपनाएर त्यस्तो अवस्थामा पनि रक्तसञ्चार केन्द्रमा नै आएर रक्तदान गरेका थिए ।
विभिन्न संघसंस्थाले हेटौंडामा रगतको अभाव हुना नदिएको उनले बताए । रक्तसञ्चार केन्द्रमा रगतको आकस्मित अभाव हुँदा फोन गर्ने बित्तिकै रक्तदान गर्न आउने रक्तदाताको संख्या सय जना भन्दा बढि छ ।
आव २०७६÷०७७ सुरु भए संगै विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम् आयोजन ागर्न लागेको उनले जानारी गराए ।
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । नेपालमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको छ ।
आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ ।
‘रक्तदान जीवनदान रक्तदान महादान’ यि स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं । रक्तदानका लागि प्रेरित गर्न यि वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान् । तर रक्तदान गर्नु अघि केही कुरामा ध्यान पु¥याउनुपर्छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।