सिमरा बजनी हत्याकाण्ड : नशाको सुरमा हत्या

गुगलपाटी संवाददाता सिमरा
११ जेष्ठ २०७५ १५:५८

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा ६ महिनाअघि भएको दम्पती हत्यामा संलग्न चार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ। गत मंसिर १६ गते बिहान आफ्नै गाई फार्ममा मृत भेटिएका कृषक दम्पती दीपक सुवेदी र दीपीका सुवेदीको हत्यामा संलग्न चार अभियुक्त पक्राउ गरी तीनजनालाई बारा प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका २ का रमेश थापा, गोपाल लामा, गुप्तबहादुर लामा र अर्जुन नेपाली रहेका छन्। शुक्रबार इलाका प्रहरी कार्यालय सिमरामा आयोजित पत्रकार सम्मेलनमा अभियुक्त सावर्जनिक गर्दै बाराकी प्रहरी प्रमुख एसपी मिरा चौधरीले पक्राउ परेका मध्ये थापाको योजनामा घटना भएको जानकारी दिइन्।

सबैलाई बारा प्रहरीको टोलीले बिहीबार राति पक्राउ गरेको एसपी चौधरीले बताइन्। पक्राउ परेका मध्ये नेपालीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको र अन्यलाई सिमराबाट पक्राउ गरेको चौधरीको भनाइ छ।

नवलपरासीका नेपालीलाई भने प्रहरीले चितवनबाट शुक्रबार दिउँसो पक्राउ गरेकाले पत्रकार सम्मेलनमा सार्वजनिक गर्न नसकिएको एसपी चौधरीले बताइन्।‘ बिहीबार राति सिमराबाट पक्राउ परेकालाई जिल्ला अदालत बाराबाट सात दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेका छौं, नेपालीलाई बारा ल्याएर आइतबार म्याद थप गरी सार्वजनिक गर्नेछौं’, उनले भनिन्।

 नशामा हत्या 
सुवेदी दम्पतीको हत्यामा संलग्न चारैजना लागु औषध प्रयोगकर्ता रहेको खुलेको छ। लागु औषध कारोबार र चोरीमा जेल सजाय समेत भोगिसकेका चारैजनाले लागु औषधको नशामा परेर सुवेदी दम्पतीको हत्या गरेको प्रहरीको भनाइ छ।

लागु औषधको कुलतमा रहेका थापा र मृतक दीपकबीच घटनाको केही दिनअघि विवाद भएको र सोही विवादको प्रतिशोध साँध्न गएका उनीहरुबीच झगडा हुँदा सुवेदी दम्पतीको हत्या भएको प्रहरीको भनाइ छ। झगडाका क्रममा छड र हथौडाले हान्दा सुवेदीको मृत्यु भएको प्रहरीले बताएको छ। पक्राउ परेकाले आफूको संलग्नतामा घटना भएको स्वीवकार गरेका छन्।

प्रहरीले बिहीबारर राति रमेश थापालाई जीतपुरसिमरा २ स्थित उनको घरबाट पक्राउ गरेपछि उसकै सूचनाका आधारमा अन्यलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक चौधरीले बताइन्।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।