बालबोध माविका शिक्षकहरुलाई ल्यापटप वितरण
गुगलपाटी संवाददाताहेटौंडा÷हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियास्थित बालबोध माविमा बागमती प्रदेश
सरकारको सहयोगमा विद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ ।
प्रदेश सरकारले विद्यालय आधुनिक बनाउने योजना सहित नमुना विद्यालय छनौट गरेर ल्यापटप
वितरण अन्तर्गत शनिबार हेटौंडाको बालबोधमा ल्यापटप वितरण गरेको हो ।
विद्यालयको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गर्दै मेयर हरिबहादुर महतले ल्यापटप वितरण गरेका हुन् ।विद्यालयका प्रधानाध्यापक रमेश कुमार रिजालका अनुसार विद्यालयका सबै कक्षामा प्रोजेक्टर पनि जडान गरिएको छ । नियमित पठनपाठन सुचारु हुँदा शिक्षकले ल्यापटप र प्रोजेक्टरमार्फत पठनपाठन गराउने सक्ने रिजालको दाबी छ ।
प्रयोगशालामा २४ वटा कम्प्युटर छ भने उक्त प्रयोगशालाको लागि करिब २५ लाख रुपियाँ खर्च भएको छ । प्रयोगशालाको लागि नेपाल दूरसञ्चार प्राधिकरणले पनि सहयोग गरेको छ ।
प्रविधिका माध्यमले अध्यापन गराउँदा शिक्षक र बिद्यार्थी दुबैको क्षमतामा विस्तार हुने मेयर महतले बताए । अब परमपरागत तरिकाले भन्दा प्रबिधिका माध्यमले विद्यार्थीलाई सिकाउँदा छिटो सिक्ने र शैक्षिक गुणस्तर पनि सुधार हुने महतले बताए ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १७ का वडाअध्यक्ष भैरवबहादुर राइ, उपमहानगरपालिका कार्यपालिकाका सदस्य शंकर बहादुर राई, उपमहानगरपालिका मेयर महतका राजनीतिक सल्लाहकार नरहरी महत, बकैया गाउँपालिकाका विद्यालय निरीक्षक आइतराम तामाङ लगायतकाको पनि उपस्थिती रहेको थियो ।