प्रदेश १ मा थपिए ५७ जना कोरोना संक्रमित
गुगलपाटी संवाददातामोरङमा एकै दिन ४६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा विराटनगर महानगरपालिकाका मात्रै २२ जना छन् । प्रदेश १ मा ५७ जना नयाँ बिरामी थपिएकोमा सबैभन्दा बढी मोरङका ४६ जना रहेका हुन् । झापामा छ र सुनसरीमा पाँच जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नौ सय ५१ जनाको स्वाब संकलन गरेर विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट सोमबार प्राप्त भएको हो । पीसीआर परीक्षण गरिएकामध्ये १८ महिला ३९ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
मोरङको विराटनगरमा १६ पुरुष र छ महिला, रंगेली नगरपालिकामा १३ पुरुष र नौ महिला, कटहरी गाउँपालिकामा दुई महिलामा कोरोना पुष्टि भएको छ । झापाको अर्जुनधारामा पाँच पुरुष र बिर्तामोडमा एक महिला तथा सुनसरीको इटहरीमा तीन, धरान र इनरुवामा एक÷एक जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा।सुरेश मेहताले बताए ।
नयाँ बिरामी थपिएसँगै प्रदेश १ मा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार एक सय २८ पुगेको छ । प्रदेशमा भाइरसबाट संक्रमित भएर उपचाररत रहेका मध्ये आठ जना निको भएर सोमबार डिस्चार्ज भएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन महिला र पाँच पुरुष डिस्चार्ज भएका् मेहताले बताए । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या आठ सय २९ पुगेको छ ।
प्रदेश १ मा हाल सम्म ४५ हजार सात सय ७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।