सुनको भाउ १ लाख बढि

गुगलपाटी संवाददाता
२१ श्रावण २०७७ ०९:४४

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चार सय पुगेको छ ।
तीज, गौरा, दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको कञ्चनपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष उमेश सुनुवारले बताए । “यस्तै अवस्थामा मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसायीले विकल्प खोज्नुपर्ने अवस्था आउने सम्भावना छ ।”

कञ्चनपुरमा १६० जना सुनचाँदी व्यवसायी रहेको बताउँदै उनले यहाँ सुन खरिदभन्दा पनि बिक्रीका लागि स्थानीय आइरहेको बताए । “लकडाउन शुरु भएसँगै मूल्य बढ्दै जाँदा कारोवार घटेर गएको हो ।” उनले भने, “काठमाडौँभन्दा यहाँ सुनको मूल्य रु एक हजार २ सयले बढी हुन्छ ।” यहाँ लामो समयदेखि मौलिक गहना नेपाली कारीगढले बनाउँदै आएका छन् भने आधुनिक गरगहना भारतीय कारीगढले बनाउँदै आएका छन् ।