हेटौंडा जोडिने भो फेरि अर्को सडक संजालमा
गुगलपाटी संवाददाता हेटौंडा,१२ जेठप्रदेश नम्बर तीन को अस्थायी मुकाम हेटौंडा भएर फेरि अर्को राजमार्ग जाने भएको छ ।
सरकारले मदन भण्डारी राजमार्गको अवधारणा ल्याएपछि हेटौंडा फेरि अर्को पूर्वपश्चिम सडक संजालसंग जोडिने भएको हो । चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी नयाँ राजमार्ग निर्माण गर्ने सरकारले निर्णय गर्यो ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्नेछ ।
सडक विभागका अनुसार मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा बन्ने यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेट्नेछ ।यो सडकले भित्री मधेससहित चुरे क्षेत्रका जिल्लाहरुलाई विकासको नयाँ ढोका खोल्ने सरकारको दाबी छ ।
राजमार्ग झापाको शान्तिनगरबाट सुरु हुनेछ र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ । त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।आगामी वर्षको बजेटमा यो राजमार्गका लागि सम्भाब्यता अध्ययन गर्न बजेट विनियोजन हुनेछ । झण्डै १२ सय किलोमिटरको यो राजमार्ग दुई लेनमा बनाइने छ ।
पूर्वतर्फ झापाको शान्तिनगरदेखि धरान खण्डको डीपीआर तयार गर्नुपर्नेछ । हेटौंडादेखि गैंडाकोटसम्म पूर्व पश्चिम राजमार्ग प्रयोग गरिनेछ । गैंडाकोटबाट पाल्पाको रामपुर हुँदै गुल्मी पुग्नेछ । गैंडाकोटदेखि रामपुरसम्मको पनि अहिले कालोपत्रे हुँदैछ ।