सरसफाईमा अब्बल बन्दै भिमफेदी

देवराज पन्त हेटौंडा,१२ जेठ
१२ जेष्ठ २०७५ ११:१३

मकवानपुरको पुरानो शदरमुकाम भिमफेदी सरसफाईमा अब्बव बन्दै गएको छ । जिल्लाकै नमुना सरसफाई गाउँ बनाउको लागि गाउँपालिका स्तरीय खानेपापनी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरी काम अघि बढाईएको हो ।

गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षताम गठित समितिमा प्रशासकीय अधिकृत सदस्य सचिव र वडा अध्यक्षहरु सदस्य रहेका छन् । समिति मार्फत सडक वरिपरि बढ्दो फोहर र घर घरबाट निस्कने फोहर ब्यवस्थापन गर्न काम थालिएको ५ नम्बर वडा अध्यक्ष जार सिं लामाले बताए । ‘सडकमा यात्रुहरुले फाल्ने फोहर, होटलबाट निस्कने फोहर र घरघरबाट निस्कने फोहर ब्यवस्थापन गर्न अभियान सञ्चालन गर्छौ’, उनले भने, ‘अटेरी गर्ने र नमान्नेलाई जरिबाना र कारबाही हुनसक्छ ।’

सरसफाई, स्वच्छता र खानेपानीको लागि पञ्चवर्षीय योजना निर्माण गरिने गाउँपालिका उपाध्यक्ष पार्वती रानाले बताईन् । ‘गाउँसभा र योजनाहरुको अनुगमन सकिएपछि हामी यसतर्फ काम अघि बढाउँछौं’, उनले भने, ‘पाँच वर्षपछि पूर्ण सरसफाईयुक्त नमुना गाउँ र कसैले पनि खानेपानी नपाएको गुनासो गर्नु नपर्ने गरी काम गर्ने हाम्रो लक्ष्य छ ।’

पूर्ण सरसफाईयुक्त गाउँ र खानेपानीको पहुँच बिस्तारको लागि प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राडो नेपाालले प्राविधिक सहयोग र सहजिकरण गरिरहेको छ । हाल गाउँपालिकाको ५० वटा घरमा सरसफाईको अवस्थाबारे सर्बेक्षण गरिएको राडो नेपालका सामाजिक परिचालक सागर धितालले बताए । ‘हामी सरसफाईको कुन चरणमा छौं भनेर सर्बेक्षण गरिएको हो । यसले पञ्चवर्षीय योजना निर्माणमा सहयोग पुग्छ’, उनले भने ।

साथै राडो नेपालले सरसफाईमा बानी ब्यवसहार परिवर्तनको लागि बिभिन्न चार वडाका चार स्थानमा सन्देशमुुलक कार्यक्रम गरेको छ । भने चार वटा विद्यालयमा बाल क्लव गठन गरी त्यसका सदस्यहरुलाई तालिम दिइएको छ ।

उक्त विद्यालयहरुमा छात्राहरुको सरसफाईलाई ध्यान दिँदै निमावि र माविका छात्राहरु रहेको महिनावारी स्वच्छता ब्यवस्थापन क्लव गठन गरिएको छ । क्लव गठनपछि छात्राहरुको विद्यालयमा नियमति उपस्थिती पनि बढेको ६ नम्बर वडा अध्यक्ष सिताराम थापाले बताए ।

आठ वटा खानेपानीको मुहान मर्मत

भूकम्पले क्षति पुर्याएका आठ वटा खानेपानीको मुहान मर्मत गरिएको छ । राडो नेपालको अगुवाईमा बासुदेव, ठिंगनको आहाले, चिसापानीको घलान टोल, भैँसेको भित्री रानी खोला लगायतका मुहान मर्मत गरिएको हो । साथै भिमफेदी ७ कोगटेस्थित पाण्डवपोखरीमा नयाँ खानेपानी योजना निर्माणको काम भइरहेको छ । उक्त योजना निर्माणपछि २२ परिवारले सहज रुपमा खानेपनीको उपभोग गर्न पाउने राडो नेपालका प्राविधिक धितालले बताए ।

खानेपानी र सरसफाईलाई प्राथमिकता

गाउँपालिकाले प्रत्येक घरमा सफा पानी र सरसफाईलाई प्राथमिकता दिएको छ । ‘अबको पाँच वर्षपछि पूर्ण सरसफाईयुुक्त नमुना गाउँपालिका र कुनै पनि घरले खानेपानीको गुनासो गर्न नपर्ने अवस्था निर्माण गर्ने हाम्रो लक्ष्य छ’, उपाध्यक्ष रानाले भनिन्, ‘त्यसको लागि गाउँपालिका एक्लैले केही गर्न सक्दैन । सहयोगी संघ संस्थाको साथ लिएर हामी काम गर्दै अघि बढ्नेछौं ।’