सञ्चार क्षेत्रको उपेक्षा गरिएकामा नेकपा नेताहरुलाई ‘आत्मग्लानी’
गुगलपाटी संवाददातानिर्वाचनका बेला एक उम्मेदवार, एक पत्रकारको नारा दिएर परिचालन गरिएको संगठनलाई निर्वाचन सकिएपछि बेवास्ता गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता र तीनै तहका सरकारप्रति प्रेस संगठन नेपाल सम्बद्ध पत्रकारले रोष ब्यक्त गरेका छन् ।
प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोधख खतिवडाले आयोजना गर्नु भएको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले पार्टीसामु एकपछि अर्का गुनासा र प्रश्नहरु तेस्र्याएका थिए । गुनासोहरुको जबाफ दिँदै नेकपा केन्द्रीय सदस्य खतिवडा, जिल्ला अध्यक्ष एबम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, सचिव एबम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, नगर इन्चार्ज तथा पूर्व प्रचार विभाग प्रमुख श्रीधर पोखरेलले पत्रकारिता फाँटप्रति पार्टीले न्यायोचित व्यवहार हुन नसकेको स्वीकार गर्नु भएको थियो ।
निर्बाचनपछि दोस्रो पटक पत्रकार भेटघाट र अन्तरक्रिया गरिएको भन्दै सांसद खतिवडाले अब हरेक तीन महिनामा पत्रकारहरुसँगको अन्तरक्रिया जारी रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले खासगरी कम्युनिष्ट नेताहरु मिडियाबाजीमा त्यति धेरै ध्यान नदिने स्वभावका हुने भएकाले पनि पत्रकाहरुसँगको उठबसमा अभ्यस्त हुन नसकिएको बताउनुभयो । ‘मेरो कमजोरी भनौँ कि, बानी नै भनौँ कि अथवा के भनौं’, सांसद खतिवडाको भनाई थियो–‘गरिएका कामहरु मिडियासामु लैजाने शैलीको विकास हुन सकेन ।’ अबका दिनमा निरन्तर पत्रकारहरुसँगको अन्तरक्रियामा ध्यान दिने र राम्रा कुराहरुको पत्रकारहरुमार्फत प्रचार प्रसार गर्ने कुरामा आफू सचेत भएको उहाँले बताउनुभयो । उहाँले आफ्नो निर्बाचन क्षेत्रमा १० भन्दा बढी पुल निर्माण भएको, केही पुलहरु निर्माणाधीन र सर्भे भइरहेको बताउनुभयो । मनहरीबाट उत्तर पश्चिम मकवानपुर पुग्ने बलियो बाटो निर्माणको योजना रहेको उहाँको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष सिग्देलले प्रेस संगठनमार्फत बिगतमा बाम सूचना केन्द्र निर्माण भई काम गरिए पनि पछिल्ला समय पार्टी एकता र केन्द्रको सर्कुलरहरुका कारण जिल्ला संगठनका कामहरु रोकिएको बताउनुभयो । स्थानीय तहहरुलाई नियमित पत्रकार सम्मेलन गर्ने तथा मिडिया फोकल पर्सन राख्ने योजनाका लागि आगामी दिनमा पार्टीले निर्देशनात्मक व्यवस्था गर्ने आश्वासन पनि उहाँले दिनुभयो । ‘केही कमीकमजोरी भएकै छ’, सिग्देलले भन्नुभयो–‘हामी सबै मिलेर संगठनलाई चलायमान बनाएर लैजानुपर्न ।’
कार्यक्रममा नेकपाका सचिव छिन्तुले भन्न्भयो–‘यत्रो विद्वानहरुको समूहको परिचालनमा हाम्रो ध्यान पुगेन’, नेकपाका सचिव छिन्तुले भन्नुभयो–‘तपाई हाम्रो अन्तरक्रिया र भेटघाट अब बाक्लो बनाएर जानुपर्छ, पार्टी नेतृत्व र पत्रकारबीचको सम्बन्धलाई स्थायी रुपमा गति िदिनु जरुरी छ ।’ अर्का नेता एबम् पूर्व प्रचार विभाग प्रमुख पोखरेलले हेटौँडा उपमहानगरपालिकाभित्र सबै वडामा भएका कामहरुको मिडिया प्रबद्र्धनका लागि पत्रकार सम्मेलन गर्ने र मिडियामैत्री हुने बिषय पार्टीको एजेन्डाको रुपमा लगिएको बताउनुभयो ।
कार्यक्रममा प्रेस संगठनका सल्लाहकार एबम नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, सल्लाहकार कौशल पाण्डे, केन्द्रीय सदस्यहरु रामकुमार एलन, सुनिल खड्का, राजन दाहाल, शिवकुमार काशी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता थियो ।
कार्यक्रममा अधिकाँशले सरकारमा पुगेपछि वा निर्वाचन सकिएपछि पत्रकारहरुको भूमिकालाई पार्टी र नेताहरुले बिर्सेको आरोप लगाएका थिए ।