प्रदेश राजधानी हेटौंडामा निषेधाज्ञा जारी

गुगलपाटी संवाददाता
२६ श्रावण २०७७ १२:३३

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका र सँगै जोडिएको मनहरी गाउँपालिका स्थित पूर्व पश्चिम राजमार्ग आसपासको ५०० मिटर क्षेत्रमा सोमबार राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ ।
आज सोमबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको हो । आइतबार एकैदिन हेटौंडामा मात्र २३ जना कोरोना संक्रममित भेटिएपछि समुदाय स्तरमा संक्रमण फौलिन नदिन सुरक्षा समितिले उक्त निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।
निषेधाज्ञा अवधिभर बिहान ५ देखि ९ बजेसम्म मात्र खाद्यान्न लगायत अत्यावसेकिय सामग्रीका पसल खोलिने प्रशासनले जनाएको छ । साथै बिहान ९ बजे देखि बजार बन्दसँगै हिँडडुल र पास विनाका सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइने प्रशासनले सूचना जारी गरेको छ ।