हेटौंडाको आइसोलेसन वार्डमा बेड नभएपछि कोरोना संक्रमित घरमै

गुगलपाटी संवाददाता
२८ श्रावण २०७७ ०९:३५

हेटौँडाको एक मात्र आइसोलेसन वार्डमा बेड नभएपछि कोरोना संक्रमितलाई घरमै राखिएको छ । पछिल्लो समय हेटौँडाको समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरिए पनि संक्रमितलाई व्यवस्थितसँग राख्ने क्षमता आइसोलेसनसँग छैन ।

हटौँडा-४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको नयाँ भवनमा ३५ बेडको आइसोलेसन निर्माण गरिएको थियो ।

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको आइसोलेसन वार्डमा संक्रमित राख्न बेड अपुग भएपछि संक्रमित घरमै बस्न थालेका छन् । मंगलबार १३ जना कोरोना संक्रमित थपिएका थिए । उनीहरूलाई सहजसँग आइसोलेसनमा राखी उपचार गर्न सक्ने क्षमता राजधानीकै आइसोलेसनसँग नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

आइसोलेसनमा सोमबारसम्म ३४ जना कोरोना संक्रमित र १ जना संकास्पद बिरामी भर्ना गरी राखिएको थियो । योसँगै हेटौँडामा सक्रिय संक्रमितको संख्या ४७ पुगेको छ । मंगलबार नै आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले १३ जनामध्ये ५ जना संक्रमितलाई जसोतसो व्यवस्थापन गरी भर्ना गरी राखेको बताए । ‘आइसोलेसनको क्षमताअनुसार संक्रमित भर्ना भइसकेका थिए । १३ जनालाई कहाँ राख्ने भनेर मलाई तनाव भयो ।

जसोतसो ५ जनालाई मिलाएर राखेको छु’, चौलागाईंले भने । उनका अनुसार मंगलबार थपिएका १३ जनामध्ये ८ जना कोरोना संक्रमितलाई आ९आफ्नै घरमा राखिएको छ । हेटौँडाको वडा ५ का ४ जना, वडा ४ का १ र वडा १० का ३ जना संक्रमितलाई घरकै आइसोलेसनमा राखिएको चौलागाईंले जानकारी दिए ।

‘आइसोलेसनमा राख्नलाई बेड छैन । घरमै सुरक्षितसाथ आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका हौँ’, हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षकसमेत रहेका चौलागाईंले भने ।

घरमै बसेका संक्रमित नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहने चौलागाईंले जानकारी दिए । ‘उहाँहरूलाई स्वास्थ्यकर्मीहरूको नियमित सम्पर्क भइरहनेछ । कुनै समस्या आउन दिँदैनौँ,’ चौलागाईं भन्छन् । कोरोना महामारीबीच हेटौँडाका कोरोना संक्रमित पहिलो पटक घरमै बसेका हुन् ।

आइसोलेसनमा १ हप्ताअघिसम्म संक्रमित राख्न बेड प्रशस्तै थियो । तर, २५ साउनदेखि हेटौँडामा संक्रमितको संख्या बढ्न थालेपछि आइसोलेसनका कर्मचारी तनावमा परेका छन् । आइसोलेसनमा बेड नबढाएसम्म आगामी दिनमा थपिएका संक्रमितलाई व्यवस्थापन गर्न झन् कठिनाइ हुने चौलागाईंको भनाइ छ । ‘आज बुधबार कति संक्रमित थपिन सक्छन्, कुनै ठेगान छैन् । कहाँ राख्ने हो रु हिजोकै संक्रमित घरमा छन्,’ चौलागाईंले भने ।

समुदायस्तरमै कोरोना संक्रमण फैलिएको अवस्थामा संक्रमितलाई घरमा राखिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । ‘प्रदेशको राजधानीमै संक्रमितलाई सहजसँग राख्न सक्ने क्षमताको आइसोलेसन छैन भने दुर्गम क्षेत्रमा कस्तो हालत होला रु संक्रमितलाई घरमै राख्ने भनिएको छ । यसले समुदायस्तरमा झन् खतरा बढाउन सक्छ,’ हेटौँडाका युवा नेता लवजार ठकुरीले भने ।

संक्रमितहरूले आइसोलेसनमा शौचालय, खानपानको व्यवस्थापन राम्रो नभएको गुनासो गर्दै आएका थिए । संक्रमितलाई शौच खुल्ला आकाशमुनि गर्नुपर्ने बाध्यता छ । पक्की शौचालयमा जाँदा अत्यधिक फोहोर र रातको समयमा बिजुली पनि नहुने समस्याले संक्रमित हैरानी खेप्दै आएका छन् । यस्तो कन्तबिजोकको आइसोलेसनलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

मकवानपुरमा संक्रमितको संख्या सयनजिक

मकवानपुरमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । जसमध्ये ४४ जना संक्रमित निको भएर घर फर्किसकेना का छन् भने ५३ जना उपचाररत छन् ।

जसमा ३९ जना संक्रमित हेटौँडाको कर्रा आइसोलेसनमा उपचाररत छन् भने ८ जना संक्रमितको आफ्नै घरको क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको सम्पर्कमा उपचार भइरहेको छ । बाँकी संक्रमितको काठमाडौं उपत्यकामा उपचार भइरहेको जनाइएको छ ।

मकवाानपुरमा ४ सय ७ वटा क्वारेन्टाइन बेड तयारी अवस्थामा छ । जसमध्ये ९५ जना क्वारेन्टाइनमा बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।