लिदी पहिरो अपडेटे : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता भएको गाउँपालिकाद्वारा पुष्टि

गुगलपाटी संवाददाता
३० श्रावण २०७७ १०:३८

जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ । जुगल २, लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै जुगल गाउँपालिकाले सूची निकालेको छ ।

लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण भने प्राप्त नभएको सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।
सभामुख अग्नि सापकोटासँगै पुगेका नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । चार जना चौतारा अस्पताल र एक जनालाई काठमाडौंको सिभिल हस्पिटल पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

शुक्रबार बिहान साढे ६ बजेतिर बस्तीमाथिको डाँडो भासिएपछि १३ घर पूरै पुरिएको र कम्तीमा ३० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए । पहिरोबाट १५ जना भने सकुशल बाहिर निस्कन सफल भएको नेपालले बताए ।