मकवानपुरको ४९ जना प्रहरीमा कोरोना पुष्टि
गुगलपाटी संवाददाताहेटौंडा । बागमती प्रदेशका १० जिल्लामा हाल सम्म ९० जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट प्रहरीका सीपाइ देखि प्रहरी उपरिक्षक सम्म समस्यामा परेका छन् । कोरोना संक्रमण हुनेमा मकवानपुरमा सबै भन्दा धेरै ४९ जना प्रहरीमा पुष्टि भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो ।
प्रदेशको काठमाण्डौ उपत्यका भन्दा बाहेकका १० जिल्लाका एसपी र इन्स्पेक्टर, ७ जना असई, २२ जना प्रहरी हवल्दार, ५४ जना प्रहरी जवान र २ जना कार्यालय सहयोगिमा कोरोना संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो । कोरोना भएका प्रहरी आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा रहेर फेरी नेगेटिभ आएका प्रहरी भने ड्युटीमा फर्किसकेका छन् ।
मकवानपुर प्रहरीमा चोरी र लागूऔषध ओसारपसारको आरोपमा पक्राउ गरिएका थुनुवाबाट कोरोना संक्रमण प्रहरीमा फैलिएको प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । ४९ जना संक्रमित मध्यमा २८ जना बिषेक भएर ड्युटीमा पुन फर्किसकेका छन् । थुनुवा हुँदै त्यहाँ ड्युटीमा खटिएका प्रहरी हुँदै जिल्ला प्रहरीमा संक्रमण फैलिएको हो । जिल्ला प्रहरी भन्दा बाहेक भने हेटौंडाको बसपार्क र हटिया प्रहरीचौकीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण भएको एसपी राठोरले वताउनुभयो । मकवानपुरको प्रहरी हिरासतमा रहेका १२ जना थुनुवालाई समेत कोरोना संक्रमण भएको थियो ।
त्यसैगरी चितवनमा ८ जना, धादिङ्गमा १ जना, काभ्रेमा २२ जना, सिन्धुपाल्चोकमा १ जना, दोलखामा २ जना, सिंधुलीमा ७ जनामा कोरोना संक्रमण भएको डिआइजी लामाले वताउनुभयो । प्रहरीमा कोरोना संक्रमण वढ्न थालेपछी उनीहरुलाई नियमित ड्युटीमा खटाउन समस्या भएको छ । संक्रमित प्रहरीलाई १४ दिन आइसोलेसनमा राख्नुपर्ने, उनीहरुको कन्ट्रयाक टे«सिङमा परेकालाई क्वारेन्टीनमा राख्नुपर्ने लगायतका समस्याले प्रहरीलाई थप समस्या भएको छ ।