स्वास्थ्यकर्मीलाई समेत समाजको डर
गुगलपाटी संवाददाताजतिबेला नेपालमा एकदुई जना मात्र कोरोना संक्रमित थिए त्यतिबेला स्वाथ्यकर्मी कोरोनासँग डराउँथे । अस्पताल जान निकै डर लाग्थ्यो । बिरामी जाँच्दा पनि कोरोना सर्ने पो हो की ? भन्ने डर हुन्थ्यो, तर, अहिले भने कोरोना सँग डर कम भएको गौरीटार आइसोलेसन वार्डका इन्चार्ज डाक्टर सागर काफलेले बताए । तर अहिले संक्रमितलाई मात्र नभई स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाको भन्दा बढी डर समाजको लाग्न थालेको डाक्टर काफलेको भनाई छ ।
नेपालमा कोरोना संक्रमित भेटिन थालेपछि सुरूवाती चरणमा सरकारले चिकित्सकहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो । तर अहिले त्यो व्यवस्था पनि छैन । काम सकेपछि कोही घर जानुपर्छ कोहीलाई भने सेल्फ क्यारेन्टाइनमा होटलतिर राख्न थालेका छन् । बिरामी जाँच्ने क्रममा मास्क र पीपीईको प्रयोग गरेपनि केही प्रतिशत किटाणु शरीरमा रहिरहन सक्ने सम्भावना हुन्छ । जसका कारण एउटै कोठामा धेरै जना बस्नुपर्ने, भाडामा बस्ने र परिवारमा बच्चा र वृद्ध भएकाहरुलाई अझ बढी समस्या पर्न सक्ने उनले भने ।
अहिले स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिएको छ । तर, संक्रमितहरुको निको हुने दर बढेकोले विगतमा जस्तो डर भने छैन । बरु यसरी संक्रमितको सेवामा खटिने स्वास्थ्यकर्मीलाई समाजले दुव्र्यवहार गरिरहेका छन् । यस्ता क्रियाकलापले भने स्वास्थ्यकर्मीको मनोबल घटाएको काफलेले जानकारी दिए ।
सुरुमा भाडामा बस्नेलाई घरवेटीले कोरोना रिपोर्ट नलिई घरमा पस्न नदिनेसम्म गरेका थिए । अहिले त्यस्ता समस्या कम हुँदै गएका छन् । तर समाजमा चेतनाको अभाव देखिँदा यस्ता समस्या निर्मुल हुन सकेको छैन । कतिपय मानिसले आफ्नो टोलको एक व्यक्तिमा कोरोना सक्रमण पुष्टि हुने बित्तिकै सबैमा सर्छ भन्ने सोच पालेर बसेका छन् यो किसिमको नकारात्मक सोच समाजमा स्थापित छ ।