मकवानपुरका ६ सय १७ जनामा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
२० भाद्र २०७७ ०८:३६

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको सख्या ६ सय १७ जना पुगेको छ । कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । पीसीआर जाँच गरिएका मध्यमा ६ सय १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कोरोना जाँच गरिएका धेरैजसो हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । कन्ट्रयाक ट्रेसिङमा परेका र कोरोनाको संका लागेका विरामीका लागि पीसीआर परिक्षणको कामलाई तिव्र बनाइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । धेरैमा जाँच गर्दा कोरोना संक्रमितको एकिन तथ्याङक आउने भएकाले अहिले हेटौंडाका १९ वटै वडाबाट सिफारिस गर्दै पीसीआर परिक्षणलाई तिब्र बनाइएको मेयर महतले वताउनुभयो ।

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिकाले पनि आफ्नै गाउँस्तरमा लगेर स्वाब संकलन गरेर हेटौंडा र धुलीखेल प्रयोगशालामा जाँच गरिएको छ । हेटौंडाको समुदाय स्तरमानै कोरोना संक्रमित देखिएका छन् । हेटौंडाका साविकका ११ वटा वडामा सबै भन्दा धेरै कोरोना संक्रमित देखा पर्न थालेका छन् । अझ हेटौंडा ४ को वजार क्षेत्र भएकाले यस क्षेत्रमा कोरोना संक्रमण बढी फैलिएकाले वेलैमा सावधानी अपनाउनका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभएको छ ।

हेटौंडा ४ का टोल टोलमा कोरोना संक्रमित देखा परेका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ६ सय १७ जना पुगेको हो ।

यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो । हिजो एकै दिन हेटौंडा, काठमाण्डौको टेकु, धुलीखेल, चितवन लगायतका अस्पतालमा गरी मकवानपुरका २३ जनामा कोरोना संक्रमण देखापरेको उहाँले वताउनुभयो ।

दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए। तर, अहिले भने स्थानीय नागरिकमानै कोरोना संक्रमण देखा परेको छ ।

मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र परिक्षणको क्रममा ६ सय १७ जना पुगेका हुन् । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वास्थ्यकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।