मकवानपुरमा ४ सय ८ कोरोना संक्रमित निको भए
गुगलपाटी संवाददातामकवानपुरमा कोरोनाबाट निको हुनेको संख्या बढेको छ । हालसम्म ४ सय ८ जना संक्रमित निको भएर घर फर्किएको जनस्वास्थ्य कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
‘साउन अन्तिम सातादेखि संक्रमित दैनिक बढिरहेका हुन् । कोरोना संक्रमणबाट पछिल्लो समय संक्रमित बढिरहँदा निको हुने पनिको संख्या पनि बढिरहेको छ,’ स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले भने । उनका अनुसार मकवानपुरमा १६ भदौदेखि आइतबारसम्म ८२ जना कोरोना मुक्त भइसकेका छन् ।
कोरोनामुक्त भएकाहरु सरकारले सञ्चालन गरेको आइसोलेसन वार्ड र आफ्नै घरमा उपचाररत थिए । उनका अनुसार यसअवधिमा २३ महिनाकी बालिका र ९३ वर्षीया वृद्धा समेत कोरोनामुक्त भएका छन् ।
हाल मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ सय ७६ रहेको छ । जसमध्ये ६० जना आइसोलेसन वार्डमा बसिरहेका छन् । गौरिटार आइसोलेसनमा ५६ र कर्रामा १, मनहरी आइसोलेसनमा ३ जना उपचाररत छन् । मकवानपुरमा १ सय १३ जना संक्रमित स्वास्थ्यकर्मीसागको नियमित सम्पर्कमा रहेर होम आइसोलेसनमा बसिरहेका छन् । जसमध्ये हेटौंडा उपमहानगरपालिकाका १ सय १० र मकवानपुरगढी गाउँपालिकाका ३ जना छन् । उपचाररत संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।
हेटौंडा–४ मा रहेको आइसोलेसनमा ४० बेडको र हेटौंडा–६, गौरीटारमा १२० बेडको आइसोलेसन वार्ड सञ्चालन भइरहेका छन् । केही गाउँपालिकाहरुले आफैं आइसोलेसन वार्ड सञ्चालनमा ल्याएका छन् ।