भरतपुर अस्पतालमा मृत्यु भएका ४६ वर्षीय पुरुषमा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
२७ भाद्र २०७७ १३:१३

भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएका थप एक जना पुरुषमा शुक्रबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालको आकस्मिक कक्षमा बिहीबार राति आउँदा नै मृत्यु भएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार राति संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । मृतक रत्ननगरपालिका–२ का ४६ वर्षीय पुरुष हुन् ।

बिहीबार राति साढे १० बजे उनलाई आफन्तहरुले भरतपुर अस्पताल ल्याएका थिए । ‘१० बजेर ३५ जाँदा अस्पतालको आकस्मिक कक्षमा ल्या पुर्‍याएका थिए । त्यही बेलामा नै उनको मृत्यु भइसकेको थियो । आफन्तहरुले उनमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो भनेपछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौं । शुक्रबार राति नतिजा आउँदा संक्रमण पुष्टि भयो,’ सूचना अधिकारी पौडेलले भने ।

कोरोना भाइरसको संक्रमणका कारण चितवनमा योसहित २७ जनाको मृत्यु भएको छ । जसमध्ये १६ जना चितवनका नै छन् । अरु उपचारका लागि भरतपुरका विभिन्न अस्पतालहरुमा आएका चितवन बाहिरका व्यक्तिहरु छन् । भरतपुरको सरकारी अस्पतालमा शुक्रबार साँझ पनि एक जना कोरोना संक्रमित ६१ वर्षीय पुरुषको निधन भएको थियो ।