पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एकको शव फेला, कम्तीमा १७ बेपत्ता
गुगलपाटी संवाददाताबाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् ।
नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस्य वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । ‘बेपत्ताहरूको खोजी गर्ने प्रयास जारी छ,’ उनले भने ।
घटनास्थल पुगिसकेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए
‘एउटा शव भर्खरै फेला परेको छ, पहिचान हुन सकेको छैन,’ उनले भने, ‘यकिन विवरण अझै आइसकेको छैन ।’ स्थानीय र आफन्त, सुरक्षाकर्मी बेपत्ताको खोजीमा जुटिसकेको न्यौपानेले बताए ।
न्यौपाने नेतृत्वको सुरक्षाकर्मीको टोली अहिले भिरखर्कतिर लाग्दै छ । ‘भिरखर्कमा १० घर पुरिएको खबर आए पनि स्थानीय, जनप्रतिनिधिसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘सुरक्षाकर्मी पनि पुगिनसकेकाले यकिन विवरण पाउन सकिएको छैन ।’
स्रोतः कान्तिपुर