क्रान्तिकारी पत्रकारले संझियो कृष्ण सेनलाई,शर्मा सम्मानित
गुगलपाटी संवाददाता हेटौंडा,१३ जेठनेकपा बिप्लव निकटको क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ ।
स्वर्गीय पत्रकार इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो । सो अवसरमा पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको पुरस्कार वितरण गर्नुका साथै जिल्लाका विविध सम्पर्क सूचनाहरु समेटेर तयार गरिएको फोन डायरीको समेत विमोचन गरिएको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले कृष्ण सेन सांस्कृतिक योद्धा, लेखक, साहित्यकारका रुपमा नभई एक महान श्रष्टा भएको बताए । सधै सादा जीवन ब्यतित गरेका सेन शब्द र कर्मका उचित मेल भएका व्यक्तित्व भएको बताउँदै प्रमुख अतिथि चलाउनेले सेनको जीवनबाट नेपाली पत्रकारिता र पत्रकारहरुले धेरै कुरा सिक्नुपर्ने बताए । कृष्ण सेनसँग आफ्नो सहकार्य र हिरासतमा सँगै रहेका बेलाको अनुभूति सुनाउँदै चलाउनेले सेनले आफ्नो विचार, आस्था र स्वाभिमानमा कहिल्यै पनि सम्झौता नगरेको बताए । नागरिकको अधिकार रक्षा, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रतिबद्ध भई लाग्ने क्रममा नै उनको कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालीन सरकारले सेनलाई कुटी कुटी हत्या गरेको उनले बताए ।
नेपालको सत्ता राजनीतिमा सामन्तवाद गहिरोसँग हावी रहेको बताउँदै चलाउनले कार्यकर्ताले विचारको बहस गरेको देख्नै नसक्ने र आफ्ना कार्यकर्ताहरुलाई गुलाम मात्र बनाउने प्रवृति हावी रहेको बताए । कार्यक्रममा बोल्दै पुरस्कृत हुने बरिष्ठ पत्रकार नवराज शर्माले कृष्ण सेन सबैको आदर्श भएको बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले संगठनले सही व्यक्तिलाई पुरस्कृत गरेको भन्दै जनताका पक्षमा कलम चलाएमा सम्मान पाइन्छ भन्ने कुराको अनुभूति बनाए ।
कार्यक्रममा प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाइटी, मिडिया नेपाल, क्रियाशील पत्रकार महिला, तामाङ पत्रकार संघ, चलचित्र पत्रकार संघलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।