मकवानपुरका होटेलहरु त खुले तर पाहुना छैन

गुगलपाटी संवाददाता
१३ आश्विन २०७७ ११:३०

हेटौंडाः कोरोना सक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको थियो । लकडाउन सुरु भएसंगै बन्द भएका हेटौंडाका होटलहरु बल्ल सञ्चालनमा आउन थालेका छन् । कतिपय होटलहरु अझै बन्द नै छन् ।
होटल सञ्चालन गरे पनि ग्राहक भने दैनिक १,२ जना मात्रै आउने गरेको होटल संचालकहरुले वताएका छन । ‘लकडाउन र निषेधाज्ञा दुवै हटे पनि होटलहरु सुचारु हुन सकेका छैनन’ मकवानपुर होटल एसोशियसन संस्थापक अध्यक्ष्ाँ भागीरथ शर्माले भने,‘लकडाउन र निषेधाज्ञा हटे पनि कोरोना सक्रमणको विस्तार र त्रास बाक्लो छ ।’ होटलहरु खुलेपनि होटल संचालकहरुले ग्राहकको अभावका कारणले कर्मचारी र कामदार बोलाएका छैनन् । ‘होटलमा ग्राहकहरु आउदैनन, किन धेरै कामदार र कर्मचारी बोलाउनु’ होटल एशोसियशन मकवानपुरका अध्यक्षँ शंकरलाल श्रेष्ठले भने,‘ होटलहरु खुले पनि होटलमा ग्राहकहरु आएका छैनन् ।’
होटलमा कार्यरत कर्मचारीहरुले चैतदेखि भदौसम्म ६ महिना तलब पाउन सकेका छैनन् । कुनै—कुनै होटलहरुले केही कर्मचारीलाई आंशिक तलब दिएका छन् । कतिपय होटलहरुले असोजबाट केही कर्मचारीलाई काममा बोलाए पनि अन्य कर्मचारीहरु भने होटलले कहिले काममा बोलाउला भनेर कुरेर बसेका छन् । हेटौंडा उपमहानगरपालिका—४ नारायणी मलमा रहेको होटल सामनामा लकडाउन अगाडि ६२ जना कर्मचारी कार्यरत थिए । उनीहरुलाई हाल होटलले रोटेसनमा काममा बोलाउने गरेको छ ।
कर्मचारीहरुलाई ५ वटा डिपार्टमेन्टमा छुट्याइएको सो होटलले १ डिपार्टमेन्टका कर्मचारीहरुलाई १५ दिन काममा बोलाउने गरेको छ । प्रतिमहिना २० लाखको हाराहारीमा आम्दानी गर्ने होटल सामनाले हाल व्यवसाय ठप्प भएकोले बैंकको किस्ता, कर, घरबहाल तिर्न समस्या भएको जनाएको छ ।
हेटौंडा—२ मा रहेको होटल एभकार्डोले कर्मचारीहरुलाई चैतदेखि नै बेतलबी बिदामा राखेको छ । कर्मचारीको स्तर हेरेर केहि कर्मचारीलाई तलब दिइएको होटलमा व्यवस्थापक मनोज ढोडारीले बताए । होटल एभकार्डोमा ६० जना कर्मचारी कार्यरत थिए । केही होटलहरुले भदौदेखि केही कर्मचारीहरुलाई काममा बोलाएका छन् । उक्त होटलले भदौ महिनामा भने हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको उद्योगका कर्मचारीलाई राखेको थियो ।
होटल सीमाले २५ जना कर्मचारीलाई बेतलवी बिदामा राखेको छ । होटलका प्रबन्धक प्रमोद मानन्धरले हाल होटल सञ्चालन गर्न थालेपनि पाहुना नआएका कारण कर्मचारीहरुलाई नबोलाएको वताए । हाल होटललाई प्रत्येक महिना १० लाख घाटा भइरहेको बताए । लामो एवं छोटो दुरीका सवारी साधनहरु पनि असोज १ गतेदेखि संचालन भएपनि यात्रुहरु आवत जावत गरेका छैनन । अर्कोतिर भेला वैठक,सेमिनार,गोष्ठीहरु गर्न सरकारले रोक लगाएको छ । भेला, वैठक, सेमिनार र गोष्ठीहरु संचालन गर्न छुट नभएसम्म होटलहरु संचालनमा आउन कठिनाई हुने हेटौडा उपमहानगरपालिका—५ स्थित रिगल रिसोर्टका संचालक विष्णु महर्जनले वताए । हेटौडाका अधिकांश संचालकहरु होटल संचालन गर्न त्यति उत्साहित देखिदैनन ।