गाँजा बहसः गाँजा खेतीलाई मान्यता दिनुपर्ने

गुगलपाटी संवाददाता
१८ आश्विन २०७७ ११:१७

कुमारी स्याङ्बो

हेटौंडा : पछिल्लो समयमा बृहत बहसको रुपमा स्थापित हुँदै आएको नेपालमा गाँजा खेतिलाई कानुनी मान्यता दिनुपर्ने बहस स्थानीय तह सम्म आईपुगेको छ ।
नेपालको संघिय संसद र प्रदेश सभामा गाँजा सम्बन्धी विधेयक समेत दर्ता भईसकेको छ । संघिय संसदमा गाँजा सम्बन्धी लामो समय देखि बहस गर्दै आएका मकवानपुर सांसद विरोध खतिवडा र पुर्व कानुनमन्त्री शेरबहादुर तामाङको अग्रसरतामा दर्ता भएको हो । यस्तै प्रदेश सभामा गाँजा विधेयक बागमती प्रदेशका पुर्व भौतिक मन्त्री केशव स्थापितले दर्ता गरेका हुन् । संघ प्रदेशमा दुवै तर्फ निजी विधेयक दर्ता भएको हो ।

जनप्रतिनिधि भन्छन ‘निर्यात र औषधी जन्यमा जोड दिउँ’

शनिबार नेपाल पानि सदुपयोग फाउन्डेसनको आयोजना तथा राक्सिराङ गाउँपालिका र नेपाल कानुन तथा नीति केन्द्र समन्वयमा गाँजा सम्बन्धी भर्चुअल छलफल भएको छ ।
भर्चुअल छलफलमा बोल्दै जनप्रतिनिधिहरुले गाँजा खेतीलाई निश्चित मापदण्ड र सरकारी नियमका आधारमा कानुनी मान्यता दिनुपर्ने बताएका छन् । पुर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजा खेती गरि मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने र विदेशीन बाध्य युवालाई स्वदेश फर्काउन सकिने बताए । तामाङले भने ‘विश्वमा धेरै देशहरुमा गाँजा माथिको प्रतिबन्ध हटेपनि तथा हाम्रो जस्तो विपन्न मुलुकले गाँजा खेतीबाट धेरै फाइदा उठाउन सकिन्छ ।’ गाँजाबाट हुने विकृतीलाई नियन्त्रण गरेर उत्पादन र निर्यातमा जोड दिनसके किसानलाई समेत फाइदा पुग्ने तामाङ जिकिर गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले गाँजा खेतिलाई वैधानिक दिनुपर्ने बताए । गाँजा उत्पादनलाई खुल्ला गरि सुरुमा औषधीजन्य उत्पादनको लागि मात्र बिक्रि वितरण गर्नसके मात्र पनि नेपालको आर्थिक वृद्धिमा निकै सकारात्मक प्रभाव पर्ने भन्दै उनले गाँजालाई वैधानिकता प्रदान गर्नुपर्ने माग गरेका हुन् । उनले भने ‘गाँजालाई प्रतिबन्ध हुनुपर्छ भनेर उर्दि कस्ने अमेरिका सहितका युरोपका देशहरुले समेत गाँजा खेति गर्न लागिसके हामी चैँ अझै कसैले केहि भन्ने होकी ? डब्लुएचओले अनुदान रोक्ने होकी, युरोपेली युनियनले अनुदान नदिने होकी भन्ने डरमा छौं, ढुक्क हुनुस हामी गाँजा खोलौं, हामीलाई केहि भन्ने आँट कोहिसँग छैन ।’ नेपालमा गाँजा खेति प्रकृतिको बरदान रहेको भन्दै उनले यसले मकवानपुर सहितका अन्य जिल्लाका गरिब किसानको जीवन उकास्न सहज हुने बताए । नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत गाँजा उत्पादन हुने भन्दै उनले यस विषयलाई मार्केटिङ गर्न सके नेपालले आर्थिक उन्नती गर्न सक्ने बताए ।
बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुर्व गृहराज्य मन्त्री इन्द्र बहादुर बानिँयाले भने लागुऔषध गाँजालाई लागुपदार्थको रुपमा ब्याख्या गर्न नहुने बताए ।
वानियाँलले भने ‘हाम्रो जस्तो विपन्न मुलुकको लागि यो उपलब्धिमुलक औषधी बनाउन सकिन्छ । विपन्न वर्ग तथा सिमान्तकृतको बसोबास रहेको राक्सिराङ, काँकडा, खैराङ, सरिखेत हुँदै कैलाश गाउँपालिकामा धेरै मात्रमा गाँजा खेति भएता पनि उक्त क्षेत्रका मानिसहरु विशेष गरि भरियाको नाममा जेल जानुपर्ने, परिवारबाट छुट्टिएर बस्नु परेका छन् ।’ बानियाँले गाँजा खेतीलाई कानुनी मान्यता दिएर विपन्न वर्गलाई आम्दानीकै स्रोतमा विस्थापित गर्नुपर्ने बताए । उनले अन्र्तराष्ट्रिय रुपमा गाँजालाई मान्यता दिन पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा प्राज्ञ पुर्व जलस्रोत मन्त्री दिपक ज्ञावलीले गाँजाको मारमा विपन्नलाई परेको बताए । गाँजालाई प्राकृतिक स्रोतको रुपमा विपन्न परिवारले वेचेर जीवन धानिरहेकोता पनि साहुहरुले दुरुपयोग गरेर विपन्न झन विपन्न साहु झन साहु हुने स्थिती रहेका ज्ञावलीले बताएका हुन । उनले गाँजा प्रतिबन्धको इतिहास जानकारी गराउँदै अमेरिकी दबाबमा राजा विरेन्द्रको पालामा गाँजा प्रतिबन्ध भएको बताए । गाँजा खुल्ला हुने वित्तिकै युवाहरु गँजेडी हुन्छन् भन्ने तर्क गलत रहेको भन्दै निश्चित मापदण्ड पालना गरे यसलाई व्यवस्थित गर्न सकिने बताए ।
स्थानीय तहको चिन्ता ः भरियामात्रै जेल परे
भर्चुअल वैठकमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले वर्तमान अवस्थामा गाँजाले मानव जीवनमा धेरै परिवर्तन ल्याएको भन्दै विदेशी दवाबमा नेपालमा गाँजा प्रतिबन्ध भएको बताए । उनले गाँजा जुनसुकै भागमा हुने भएकाले कानुनी आधार बनाएर खुल्ला गर्दा देशमा निकै ठुलो आर्थिक परिवर्तन ल्याउनसक्ने भएकाले प्रतिबन्ध गर्नु जरुरी स्पष्ट पारे । ‘मकवानपुर लगायत देशको विभिन्न भुभागमा गाँजा खेती हुन्छ । जनताले गाँजालाई अहिले सम्म पनि अपराधको रुपमा स्विकारेको छैन तर राज्यले अपराध मानेको छ । नेपालमा गुणस्तरीय गाँजा उत्पादन गर्न सकेमा नेपालको गाँजाले अन्तर्राष्ट्रिय रुपमा बजार सिर्जना गर्न सकिन्छ ।’ त्यस्तै कार्यक्रममा गाँजा खेति हुने क्षेत्रबाट प्रतिनिधित्व गर्ने राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला ढिमडुङले महिलाहरुलाई गाँजाको भरिया बनाउने तर प्रहरीले तस्कर नसमातेर भरियालाई जेल हाल्ने समस्या धेरै रहेका बताईन् । गरिब पिछडिएका वर्ग भएका कारण गाँजा खेती गर्नुपर्ने बाध्यता भएको भन्दै रोप्न सक्नेले गाँजा रोप्ने गरेको र गाँजा रोप्न नसक्नेहरु भरियाका रुपमा काम गर्ने गरेको बताए । मकवानपुरमा गाँजाको भरियाहरुको जीवन नै विग्रने गरेको उनले बताईन् । ‘भरिया भएर जाने महिला वा पुरुषहरुलाई ५÷१० वर्ष जेल सजाय हुँदा उनिहरुको घरव्यवहार बिग्रिसकेको हुन्छ । एकदुई पैसाको आसमा भरिया बनेर गएकाहरु ९÷१० वर्षपछि घर फर्किन्छन् । ज्याला गरेर खानेहरुका बालबच्चाले शिक्षा पाउँदैनन, भने जस्तो संस्कार पाउँदैन त्यसकारण समाजमा धेरै समस्या रहेको छ ।
नेपाल पानि सदुपयोग फाउन्डेसनका कार्यकारी संयोजक डा. चिरञ्जिवी भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कानून विद कमल पोखरेलले नेपालको कानुनको बारेमा जानकारी गराएका थिए । कार्यक्रम मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लाको अध्यक्षतामा भएको थियो ।