भिमफेदी दुर्घटना अपडेटः थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो
गुगलपाटी संवाददाताहेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६, सिमखोलामा टाटा सुमो दुर्घटना हुँदा घाइते एक महिलाको पनि मृत्यु भएको छ । झापा जिल्ला जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरिको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । घटनास्थलमै २ जना पुरुषको मृत्यु भएको थियो । उनीहरुको अझै सनाखत हुन सकेको छैन ।
मृतकको अनुहार क्षतविक्षत भएकोले चिन्न नसकिने अवस्था रहेको र साथमा भेटिएको कागजपत्रका आधारमा अनुमान लगाउन सकिने भए पनि निश्चित गर्न सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ । दुईजना मृतकको ठेगाना मकवानपुर नै हुन सक्ने र परिवारका सदस्य या आफन्तले शवको पहिचान गरेपछि सनाखत हुने प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ ।
दिउँसो करिब साढे १२ बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते ४ जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये रौतहट जिल्लाको रंगपुरका २९ वर्षीय सुजन कुमार काफ्लेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने सुमो चालक भीमफेदी गाउँपालिका–४ का २९ वर्षीय विष्णु मगर, हेटौंडा–३, बसामाडीकी ३० वर्षीया शर्मिला थिङ र मकवानपुरगढी गाउँपालिका–४ का २७ वर्षीय सोमबहादुर गुरुङको चुरेहिल हस्पिटलमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।