लकडाउनले हेटौंडा खानेपानीको राजश्व लक्ष्य भन्दा कम

गुगलपाटी संवाददाता
१९ आश्विन २०७७ ०७:२६

कुमारी स्याङ्बो
हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मकवानपुरले आर्थिक वर्ष २०७६÷०७७मा लक्ष्य भन्दा कम राजश्व उठाएको छ । बोर्डको महसुल संकलन काउण्टर २०७६ चैत ११ गते देखि बैशाख २५ गते सम्म बन्द रहेकोले पनि राजश्व कम उठेको हो ।

२०७७ बैशाख २६ गते बाट मात्र संचालनमा आएकोमा बोर्डले ग्राहकहरुबाट पानी महशुल लक्ष्य भन्दा कम संकलन गरेको खानेपानी बार्डले जनाइएको छ । २०७७ असार मसान्त सम्म पानी महशुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ्ग, मिटर जडान मर्मत, नामसारी, निबेदन फारम तथा अन्य दस्तुर र बैक व्याज इत्यादी गरी बार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आय तर्फ ९६ दशमलव २६ प्रतिशत प्रगति, बाह्य आम्दानी तर्फ ५६ दशमलव ८८ प्रतिशत प्रगति भएको बोर्डले जनाएको छ । बोर्डको गत आर्थिक वर्षको बैंक मौज्दात समेत गणना गर्दा कुल बार्षिक लक्ष्यको तुलनामा आय तर्फ ८९ दशमलव ९४ प्रगति भएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सुचना अधिकारी सन्जय न्यौपानेले बताए ।

६२ लाख अग्रिम भुक्तानी

०७६÷०७७ को असार मसान्त सम्मको जम्मा बिलिङ्ग रकम ८ करोड २६ लाख ६० हजार मध्ये ८ करोड ४ लाख ४२ हजार अर्थात ९७ दशमलव ९१ प्रतिशत पानी महसुल उठाउन बोर्ड सफल भएको छ । २०७६÷०७७ को अन्त्य सम्म पानी महसुल बाँकी बक्यौक्ता रकम ४० लाख ५६ हजार रहेकोमा ग्राहकहरुबाट ६२ लाख ५० हजार अग्रिम महशुल भुक्तानी भएको छ । यस्तै जोखिमयुक्त बक्यौता रकम ५ लाख २० हजार रहेको न्यौपानेले भने ।
बोडएको खर्च तर्फ २०७७ असार मसान्त सम्ममा कर्मचारी तलब, सञ्चार महसुल, छपाई तथा मसलन्द इत्यादी गरी कार्यालय संचालन खर्चमा बार्षिक कुल लक्ष्यको तुलनामा १०१ दशमलव ८४ प्रतिशत खर्च भएको छ ।
विद्युत महशुल, इन्धन, औजार, जिर्ण पाइप परिवर्तन, प्रणाली मर्मत इत्यादी गरी बार्षिक कुल लक्ष्यको तुलनामा सेवा संचालन तर्फ ९० दमलव २९ प्रतिशत खर्च भएको छ र डिप ट्यूववेल संचालन, सम्मवेल निर्माण, पाइप खरिद, भवन तथा पर्खाल निर्माणमा बार्षिक कुल लक्ष्यको तुलनामा पूँजीगत खर्च तर्फ ६२ दमलव ०२ प्रतिशत खर्च भई कुल बार्षिक लक्ष्यको तुलनामा व्यय तर्फ जम्मा ७७ दशमलव ६२ प्रतिश खर्च भएको बोर्डले जनाएको छ ।

बोर्डले हेटौंडा १४ डाइभर डाँडामा पाइप खरिद विस्तारको लागी रकम विनियोजिन गरेको छ । जसमा बागमती प्रदेश सरकारसंगको सहलगानिमा खर्च हुनेछ । गत आर्थिक वर्षमा लकडाउनका कारण भवन मर्मत, मुहान संरक्षण लगायतका अन्य कार्यहरु नभएको हुँदा विनियोजित रकम भन्दा बजेटमा खर्च समेत घटेको देखिन्छ ।

१ लाख २५ हजारलाई डेढ करोड लिटर

हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० को पुरै र वडा नम्बर १, १४, १५, १६ र १७ का केही भु—भागमा बसोबास गर्ने करिब १ लाख २५ हजार उपमहानगरपालिका बासीहरुलाई पानीको व्यवस्थापन भईरहेको छ । सतहगत स्रोतमा बुङ्गदोल मात्रै रहेको छ । यस्तै २४ भुमिगत स्रोतहरु (२ सामरी, ३ चौकिटोल, २ कर्रा, ३ कमाने, २ हुप्राचौर, २ टि.सि.एन, २ कुखरेनी, २ नागस्वती, गौरिटार, गर्दोइ, स्मृतिटोल, मयुरधाप, नयाँबस्ती, राइटोल )बाट नियमित ६ देखी ७ घण्टा करिब १८ हजार ५५ धाराहरुमा दैनिक सरदर १ करोड ४२ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेका न्यौपानेले जानकारी दिए ।

यस्तै बोर्डको सेवा क्षेत्र समेत बिस्तार गर्दै आएको छ । हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट सेवा क्षेत्र भित्र विभिन्न ४ स्थानहरुमा डिप ट्यूववेल निर्माण, पानी भण्डारण टंकी निर्माण गरेको छ । मेन तथा शाखा पाइप लाइन विस्तार लगायत अन्य कार्य खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट करिब ८४% निर्माण कार्य सम्पन्न भई सकेको बोर्डले जनाएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा हेटौंडा वडा १४ नम्बर बनेलधापमा ३ लाख लिटर क्षमताको पानी भण्डारनको लागि टंकी निर्माण गरेको हो । पाइप लाइन विस्तार कार्य गर्नको लागि हेटौंडा उपमहानगरपालिकाबाट बोलपत्रको माध्यमद्धारा कार्य अगाडी बढाई सकेको बोर्डले जनाएको छ । नगर क्षेत्र भित्र वडा नम्बर १२, १३, १६, १८ र १९ नम्बरं मा स्थानीय स्तरबाट संचालित खानेपानी उपभोक्ता समितिहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने क्रममा रहेको र केही समितिहरुबाट हस्तानान्तरण प्रकृया अगाडी बढाई रहेको उनले बताए ।