खानी प्रभावितसँग छलफल गर्न गएनन् जनप्रतिनिधि
गुगलपाटी संवाददाता राक्सिराङ
मकवानपुरको राक्सिराङ ४ स्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगको खानी प्रभावित क्षेत्रका बासिन्दाले सोमबारको दिन जनप्रतिनिधिलाई कुरेर बिताएका छन् । गत शनिबार मंसिर २० गते प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको उपस्थितीमा खानीमा भएको छलफलको क्रममा यस क्षेत्रका जनप्रतिनिधिहरुले खानी प्रभावित बासिन्दाहरुसँग सोमबार बृहत्त छलफल गर्ने प्रतिबद्धता जनाएका थिए । खानीको समस्याबारे छलफल गर्न सोमबार बिहानैबाट ४ नम्बर वडास्थित चौकिटारमा जम्मा भएका गाउँलेहरुले दिनभर कुर्दा पनि कोही जनप्रतिनिधि नआउँदा निरास भएर अ–आफ्नो घर फर्कन बाध्य भएको स्थानीय जनसरोकार समितिका अध्यक्ष गोपाल तामाङले बताए ।
यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु र केही राजनीतिक पार्टीका नेताहरुले करिब एक महिनिा अघि रिद्धिसिद्धी सिमेन्ट उद्योग ब्यवस्थापनसँग ११ बुँदे सहमति गरेका थिए । खानी प्रभावित स्थानीयबासीहरुलाई थाहै नदिई गाउँलेको हित बिपरित सम्झौता गरेको भन्दै स्थानीयहरुले बिरोध गरेका थिए । गाउँलेको बिरोधपछि प्रमुख जिल्ला अधिकारी रिजाल सहितको उपस्थितीमा भएको छलफलमा सोमबार प्रभावित स्थानीयसँग जनप्रतिनिधिहरुले छलफल गरी स्थानीयहरुको मागबारे छलफल गर्ने सहमति भएको गोराङ्दी टोल विकास संघका अध्यक्ष सुकमान मोक्तानले बताए । ‘हामी दिनभर गाउँले जम्मा भएर बस्यौं, तर कोही जनप्रतिनिधि आउनुभएन’, उनले भने, ‘फोन गरेर छलफलको लागि बोलाउँदा पनि वडा अध्यक्ष सञ्जय कोइरालाले म आउदिन भन्नुभयो ।’
जनप्रतिनिधिहरु समेत प्रभावित जनताको समस्याबाट भागेको भन्दै स्थानीयबासीहरुले कानूनी उपचारको लागि अदालत जाने बताएका छन् । ‘हाम्रो लागि कोही बोलिदिने, सुनिदिने पनि भएन’, जनसरोकार समितिका अध्यक्ष तामाङले भने, ‘उद्योगसँग जनप्रतिनिधिहरुकै मिलेमतो भएपछि हामीले अब अदालत बाहेक जाने ठाउँ भएन ।’
खानी प्रभावित बासिन्दाहरुले उचित मुल्यमा जग्गा खरिद गरी आफुहरुलाई अन्यत्र बसोबासको ब्यवस्था मिलाइदिनुपर्ने, उद्योग आफैले जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा दश लाख रुपैयाँ भन्दा कम रकम प्राप्त हुनेहरुलाई अन्यत्र पुर्नबास गराउनुपर्ने, घरजग्गा बिक्री गरेर पनि अन्त्रय ब्यवस्थापन नभएकाहरुको घरबारीमा तत्काल डोजर लगाउन नहुने लगायतका माग गरेका छन् ।
तर उद्योगले भने स्थानीयहरुको माग पुरा गरेरै खानी सञ्चालन गरेको दाबी गरेको छ । उद्योगले जनप्रतिनिनिधहरुसँग भएको सम्झौता अनुसार एक सातादेखि खानी सञ्चालन गरी सोमबारबाट चुन ढुङ्गा उद्योगमा ल्याउन सुरु गरेको छ ।
उद्योग ब्यवस्थापनसँग स्थानीय खानी प्रभावित जनताहरुको तर्फबाट बागमती प्रदेशसभा सदस्य ओम बहादुर ग्लान, राक्सिराङ ४ नम्बर वडा अध्यक्ष सञ्जय कोइराला सहित स्थानीय राजनीतिक दलका नेताहरुले ११ बुँदे सम्झौता गरेका थिए । जनप्रतिनिधिहरु छलफलको लागि आउने भनेपछि करिब एकसय खानी प्रभावित स्थानीय भेला भएका थिए ।
उद्योगलाई न्युन मुल्यमा जग्गा बिक्री गरेका स्थानीयहले पटक पटक गरी प्राप्त गरेको रकम खर्च गरिसकेका छन् । घरबारीमा खानी सञ्चालन भएपछि सुकुम्बासी बनेका उनीहरुले अन्यत्र बिकल्प नहुँदा गाउँ छाड्न सकेका छैनन् । उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार बिस्थापित हुने र २५ हेक्टर जमिन प्रभावित स्थानीयबासीहरुको भनाई छ ।