सशस्त्र प्रहरी गणको नवनिर्मित भवन उदघाटन
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेको हाताभित्र नवनिर्मित भवनको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नु भएको छ । बागमती प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार ७ सय ११ रूपैयाँ लागतमा १६ कोठे ब्यारेक भवन निर्माण भएको हो ।
प्रहरीको भवन उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले धेरै कठिनाइका साथ प्रहरीले काम गरिरहेकाले प्रदेश सरकारले समस्याका विचमा समेत प्रहरीका लागि सहयोग गरिरहेको वताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले शान्ति सुरक्षाका लागि प्रहरीको भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिक्ता दिएको बताउनुभयो । प्रहरी सञ्रचनाको सुदृढिकरण बिना चाहे अनुसारको सुरक्षा दिन नसकिने हुँदा प्रहरीका भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिक्ता दिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले यातायातका साधनहरु पनि भ्याए सम्म दिने तयारी गरिरहेको र यस वर्ष १२ वटा सम्म सवारीका साधन प्रहरीलाई दिने वताउनुभयो ।
प्रदेश सरकारले अबको ३ देखि ४ महिना भित्रमा ४६ वटै प्रहरीका भौतिक संरचनाहरु निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने चरणमा रहेको र थप २१ वटा भवन निर्माणका लागि स्वीकृति प्रदान गरेर बजेट समेत विनियोजन भईसकेको उहाँले बताउनुभयो । मुलुकको सुरक्षाको काममा महत्वपूर्ण जिम्मेवारी बहन गर्ने प्रहरी संरचनाहरु पुर्ण सुरक्षित हुनुपर्ने उहाँको भनाई थियो । प्रदेश सरकारले प्रहरी प्रशासनका क्षेत्रमा कुनै कुराको कमी हुन नदिने भन्दै उहाँले जिम्मेवार भएर चुस्त दुरुस्त सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।
उदघाटन कार्यक्रममा बागमती प्रदेश प्रदेशका प्रमुख सचिव मान बहादुर विके, आन्तरिक मामिला तथा कानुन मन्त्रलय सचिव मदन भुजेल, मध्यपृतना मुख्यालयका उपरथी अशोककुमार सिग्देल, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामा, राष्ट्रिय अनुसन्धानका बागमती प्रदेशका निर्देशक सुमन बैद्य, मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर, शसस्त्र प्रहरी १४ नम्बर गण हेटौँडाका एसपी निरकृष्ण अधिकारी, गणका प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, नेपाल प्रहरी भौतिक पुर्वाधार शाखाका एसपी ईश्वर थापा लगायतकाको उपस्थिति रहेको थियो ।