५७ वर्ष पछि दोस्रो औद्योगिक क्षेत्रको शिलन्यास

गुगलपाटी संवाददाता
१५ फाल्गुन २०७७ ०८:२६

बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो औद्योगिक क्षेत्र निर्माणको ५७ वर्ष पछि नयाँ औद्योगिक क्षेत्रको शिलन्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा स्थापित मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्नु भएको हो । यस अघि हेटौंडामा २०२० सालमा अमेरिकी सरकारको सहयोगमा हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको थियो ।

                संघीय सरकारले वि.संं. २०७२ साल चैत्र १ गते मयुरधापको ३ सय बिगाह जमिनमा नयाँ औद्योगिक क्षेत्र घोषणा गरेपनि जग्गाको भोगाधिकार बिवादका कारण निर्माणकार्य अघि बढेको थिएन । मन्त्रिपरिषद् निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रका नाममा नामसारी गरिएको थियो । सरकारले औद्योगिक क्षेत्रको नाममा जग्गाको लालपूर्जा दिएपनि पर्सा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्राधिकारभित्रको जमिन भन्दै जग्गा उपयोगमा रोक लगाएको थियो । निकुञ्जसँगको सहमतिपछि आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाउन शिलन्यास गरिएको हो ।
औद्योगिक क्षेत्र तयारीका लागि करिब साढे सात अर्ब खर्च अनुमान गरिएको छ । डीपीआर तयारीपछि मुद्रण विभागले नोटछाप्ने उद्योग स्थापनाको सम्झौता गरेपछि बाँकी जमिनलाई चार देखि १४ रोपनी सम्मका ६३ वटा प्लटमा विभाजन गरिएको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए ।
वर्षौंदेखि चुरेको जंगल हुँदै मयुरधापमा खहरे बग्ने गरेको थियो। चुरेको खहरेले धार परिवर्तन गरेसँगै ठूलो क्षेत्रफल खाली जमिनका रुपमा बसेको थियो। बुट्यानले ढाकेका जमिनमा ठूला रुख छैनन् । उक्त जग्गा समथर छ । प्रस्तावित क्षेत्रमा ५०.४७ प्रतिशत नदीउकास, ३.७१ प्रतिशत कृषि जमिन, ११.१२ प्रतिशत बनक्षेत्र, ४.३५ प्रतिशत घाँसे मैदान, २२.२५ प्रतिशत खुला मैदान, ४.१७ प्रतिशत बाटो र करिब ०.२२ प्रतिशत निर्मित संरचना छन् ।
          २ वर्षभित्र उद्योगहरु सञ्चालनमा ल्याउने औद्योगिक क्षेत्रको लक्ष्य
मयुरधाप औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि आशयपत्र माग गर्दा २ सय ५० वटा उद्योगले आशयपत्र दिएको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए । प्रथमिकताका आधारमा र्नियात मुखि ,कृषि र रोजगार मुलक उधोगहरु २ वर्ष भित्र संञ्चालनमा ल्याउने गरि काम गर्ने लक्ष्य लिएको स्थापना हुने र प्रबन्धक कँडेलले वताए । उक्त क्षेत्रमा हेलिप्याड, सशस्त्र गण, पेट्रोल पप्प, बिजुली स्टेसन, हेभी गाडी पार्किङ, वाटर ट्यांक, स्टाफ क्वार्टर, ल्याब लगायत संरचना निर्माण गरिने जनाइएको छ ।
राजनीतिक स्थायित्व आवश्यक ः भट्ट
मन्त्री भट्टले जबसम्म देश राजनीतिक स्थायित्व नहुँदासम्म देशको विकास नहुने बताउनु भयो । औद्योगिक क्षेत्र शिलन्यास गर्दै ‘औद्योगिक क्षेत्रको लागि के के सुविधा छुट दिन सकिन्छ त्यसबारे छलफल भइरहेको छ ।’ मन्त्री भट्टले बताउनु भयो । मन्त्री भट्टले अदालतको फैसलाको सम्मान गर्ने प्रस्ट पार्दै फैसलाले कसैको जित नभै पार्टि पुस ४ को अवस्थामा पुगेको समेत दावी गर्नु भयो ।
देश विकासको गति तर्फ अगाडी बढिरहेको र अहिलेको स्थितीलाई सामाना गर्दै सरकारको कामलाई अगाडी बढाउने र आत्माआलोचना गरे अर्का समुहका नेताहरुलाई पार्टिको ढोका खुल्ला रहेको भन्दै बाटो बिर्सिएकाहरु घर फर्किन्छन् भनेर ढोका खुल्लै रहेको वताउनु भयो ।
बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले उद्योगका नाममा जग्गा ओगट्ने मात्रै नभई उत्पादन र रोजगारमुखी उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग संघका अध्यक्ष लेखराज पोखरेल, संविधान सभा सदस्य अनन्त पौडेलले उद्योगको विकास गरी रोजगारी सिर्जनमा जोड दिनुपर्ने बताउनु भएको थियो ।