नेपाल समूहका १४ जना प्रदेश सदस्यलाई स्पष्टीकरण

गुगलपाटी संवाददाता
८ जेष्ठ २०७८ १०:०३

नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टीको निर्णय विरुद्ध गतिविधि गर्ने प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जना सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको हो ।

मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नेदेखि राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन विरुद्ध रामबहादुर थापा बादललाई पराजित गराउन भुमिका खेलेको भन्दै विपक्षी उम्मेदवारलाई मतदान गर्ने प्रदेश सांसदलाई भोलि आइतबार साँझ ५ बजे सम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएको नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बताउनुभयो ।
पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन एमालेले ह्वीप लगाए पनि उनीहरूले स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई मतदान गरेकाले तोकीएको समय भित्र स्पष्टिकरण आएपनि थप र्कावाहीबारे निर्णय हुने सचेतक निरौलाले बताउनुभयो ।
बैठकले प्रदेश सांसद अष्टलक्ष्मी शाक्य,राजेन्द्रप्रसाद पाण्डे,अरुण प्रसाद नेपाल, रचना खड्का, कुसुम कुमार कार्की ,मुनु सिग्देल,बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्ति प्रसाद पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको निरौलाले जानकारी दिनुभयो ।