हेटौंडाको आकर्षण : हरियाली र सरसफाई
गणेश दुलाल हेटौंडासरसफाईका हिसावले हेटौंडा देशकै अग्र स्थानमा रहेको छ । हेटौंडा सरसफाईमा उत्कृष्ट काम गर्न स्थानीय तह मध्ये एक हो । जसका कारण हेटौंडा सफा सहरको रुपमा परिचित रहेको छ ।
वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापनमा काम सुरु गरेपछि हेटौंडाले महत्वपूर्ण उपलब्धी पनि हात पार्न सफल भएको हो । लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन २०७४ मा भयो । स्थानीय तहको निर्वाचन पछि हेटौंडामा पनि जनप्रतिनिधिहरुले आफ्नो काम सुरु गरे ।
हेटौंडाको नेतृत्वमा नगर प्रमुख हरिवहादुर महत र उपमेयरमा मीना कुमारी लामा आए । उनीहरुको नेतृत्वमा हेटौंडाले सरसफाईको क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको छ ।
हेटौंडाको जनप्रतिनिधिहरुको सोच र याजना अनुसार वैज्ञानिक प्रविधिबाट फोहार व्यवस्थापन भइरहेको छ । यसबाट हेटौंडाको फोहोर व्यवस्थापन हुनुका साथै आर्थिक रुपमा पनि सहजता मिलेको छ । फोहोर व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिकाले खासै खर्च गर्नुपर्ने अवस्था छैन । अन्यत्र जस्तो हेटौंडामा फोहोर व्यवस्थापनमा वार्षिक रुपमा बजेट विनियोजन हुने गरेको छैन ।
फोहोर व्यवस्थापनका लागि स्थानीय तह, समुदाय र नीजि क्षेत्रको साझेदारी गरेको छ । हेटौंडा उपमहानगरपालिको पहलमा हेटौंडामा उत्पन्न हुने फोहोरको स्रोतमा नै विभाजन गरी संकलन गरिन्छ । हेटौंडा उपमहानगरपालिकाको योजना अनुसार उत्पन्न हुने फोहारलाई जैविक र अजैविक गरी दुई छुट्टा छुट्टै स्थानमा संकलन गरी व्यवस्थापन गरीन्छ ।
जैविक फोहरबाट कम्पोष्ट मल बनाएर हेटौंडाका बासिन्दाले आम्दानी समेत गरिरहेका छन् । उपमहानगरपालिकाले फोहर व्यवस्थापनमा बजेट नछुट्याए पनि स्थानीयबाट मासिक न्यूनतम शुल्क उठाएर गरीरहेको छ ।
नकुहिने फोहर ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रालिले घर घरमा नै पुगेर संकलन गर्छ भने कुहिने फोहोरबाट स्थानीयले जैविक मल तयार गर्ने गरेका छन् । यसका लागि सो कम्पनीले स्थानीयबाट मासिक १०० देखि १५० रुपैयाँसम्म उठाउने गरेको छ । हेटौंडा उपमहानगरपालिकाले भने त्यसको अनुगमन र प्रभावकारिताको अध्ययन गर्ने काम गर्दै आएको छ ।
हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा नागरिकको सहायताको लागि हरियो डस्टबिनमा कुहिने फोहर र निलो डस्टबिनमा नकुहिने फोहर छुट्याएर राख्ने व्यवस्था समेत गरेको छ ।
कम्पनीले घर घर पुगेर उपमहानगरका वडामा कुहिने र नकुहिने फोहर बार अनुसार संकलन गर्ने गर्छ । शनिबार र मंगलबार नकुहिने तथा सोमबार र बिहीबार कुहिने फोहर संकलन गरी व्यवस्थापन गरिन्छ ।
बजार क्षेत्रबाट संकलित फोहरलाई हेटौंडा–१० मा लगेर वर्गिकरण गरिन्छ । जसलाई अजैविक फोहोर दोस्रो चरणको पृथकीकरण केन्द्र पनि भनिन्छ । त्यहाँ पुनः प्रयोग गर्न मिल्ने फोहरको वर्गिकरण हुन्छ भने त्यसलाई संकलन गर्ने कम्पनीले बिक्री गर्छ । बाँकी रहेको फोहर मात्र ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गरिन्छ ।
फोहर व्यवस्थापनजका लागि हेटौंडा उपमहानगरपालिकाले राप्ती खोलाको कटान क्षेत्रमा ल्याण्डफिल्ड साइट निर्माण गरेको छ । फोहर व्यवस्थापनको काम भइरहेकोल क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले विभिन्न प्रजातीका बिरुवा लगाएर हरियाली कायम गरेको छ भने त्यसबाट हुने प्रदुषणलाई पनि न्यूनिकरण गरेको छ ।
उपमहानगरपालिmकाबाट निस्किएका जैविक फोहरलाई ग्रिन एण्ड क्लिन सिटी सर्भिसेज प्रालि.ले हेटौंडा–१० मा रहेको कम्पोस्ट प्लान्टमा लगेर मल बनाउने गर्छ । उक्त मल बिक्रि गरेर कम्पनीले आर्थिक आमदानी समेत गरिरहेको छ ।
फोहर व्यवस्थापनका हेटौंडा उपमहानगरपालिकाले लागि ७० जना कर्मचारी परिचालन गरेको छ भने कम्पनीले ४० जना कर्मचारी परिचालन गरेको छ । हेटौंडा उपमहानगरपालिकाले स्थायी १५ जना, करार ७ जना र दैनिक ज्यालादारी ४८ जना कर्मचारी सरसफाईमा खटाउने गरेको छ ।
सबै कर्मचारीहरुलाई दुई सिफ्टमा काममा खटाउने गरिएको छ । स्थायी कर्मचारीले विहान मुख्य बजार क्षेत्रमा कुच्चो लगाएर फोहर संकलन गर्ने र नाला सरसफाई गर्ने काम गर्छ भने करार र ज्यालादारीमा काम गर्न कर्मचारीले दिउँसोको समयमा सरसफाईको विभिन्न काम गर्ने गर्छन् ।
हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधि आइसकेपछि वातावरण तथा सरसफाईको लागि ऐन तयार गरी कार्यान्वयनमा ल्याएको छ भने त्यसको नियम, निर्देशिका र कार्यविधि निर्माण गर्ने चरणमा रहेको छ ।
निकट भविष्यमा नै हेटौंडा उपमहानगरपालिकाले फोहर व्यवस्थापनको दिगो समाधानको लागि प्रविधि र वातावरण मैत्रि थर्मल प्लाण्टको निर्माणमा अघि बढेको छ । त्यसको आवश्यक अध्ययनका लागि हेटौंडा उपमहानगरपालिकाले शहरी विकास मन्त्रालयमा निवेदन समेत पेश गरिसकेको छ ।
हरियाली (फूलै फूलको शहर हेटौंडा)
२०४९ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको मेयरमा डोरमणि पौडेल उपमेयरमा हरिबहादुर महत निर्वाचित भए । उनीहरुको पहलमा हेटौंडा बजार क्षेत्रलाई हरियालि बनाउने काम सुरु भएको थियो ।
सोही समयमा मुख्य सडक छेउछाउमा अशोकमा विरुवा लगाएर बजार क्षेत्रलाई हरियाली बनाउने काम भएको थियो । मुख्य बजार क्षेत्र हुँदै आवासीय क्षेत्रमा प्रवेश गरेको हरितिकरण कार्यक्रम अहिले हेटौंडा उपमहानगरपालिका क्षत्रे भर फैलिएको छ ।
२०५४ मा पनि उनै पौडेल र महत हेटौंडा नगरपालिकाको मेयर र उपमेरमा निर्वाचित भए । त्यस समयामा पनि हरियाली शहर निर्माण योजनाले तिव्रता पायो ।
२०७४ को निर्वाचनबाट तत्कालिन उपमेयर महत मेयर बने । उनको ५ वर्षे कार्यकालमा हेटौंडाका १९ वटै वडामा हरितिकरण कार्यक्रम संचालन भएको हो ।
उनले फुलै फुलको शहर निर्माण गर्ने अभियान नै चलाए । हेटौंडा उपमहानगरपालिकाको कान्तिराजपथ सडकको बिचमा राखिएको डिभाइडरदेखि बजार क्षेत्रका खालि जग्गामा समेत फूल तथा सजावटका विरुवाहरु रोपियो ।
बुद्धचोक देखि सानोपोखराहुँदै चौघडा सम्मका सडकको छेउ र खालि स्थानमा हरियो र झकिझाउ फूलहरु लगाइएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका कार्यालय देखि मनकामना चोक सम्मको सडकमा सानाठुला फूलका विरुवा लगाइएको छ ।
महतको कार्यकाल २०७४ जेष्ठ देखि २०७८ बैशाख सम्ममा हेटौंडाका विभीन्न स्थानमा २८ हजार ८५३ वटा फूलका विरुवा रोपिएका छन् । सडक पेटीसंगै विभिन्न प्रजातिका सिजनल, बुट्टेदार, सजावटका फूलका विरुवाहरु रोपिएका छन् । हेटौंडा उपमहानगरपालिकाले अधिकांश विरुवा आफ्नै नर्सरीमा नै उत्पान गरीका विरुवाहरु प्रयोग गरेको छ रकेही विरुवा मात्र उपमहानगरपालिकाले खरिद गरेको छ ।
हेटौंडाका विभीन्न स्थानमा निलकाँडा, गुलमोर, धुपी, पाम ट्रि, कल्की फूल, चाइनिज गुलाब, साइकस, हेज प्लान्ट, निलो फूल, क्यातुके, अशोका, बगानदेवि, एरिया पाम लगायतका फूलका विरुवा रोपीएका छन् ।
फूल रोप्ने, पानी हाल्ने र गोडमेल गर्ने अभियानलाई तिब्रता दिइएका कारण हेटौंडा हरियाली शरहको रुपमा स्थापित भएको महत बताउँछन् । हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा मात्र नभइ ग्रामिण भेगमा पनि हरियाली प्रर्वद्धन कार्यक्रम संचालन गरेर विरुवा रोपेको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–६ र ८ मा १ लाख ४२ हजार रुपैयाँ लागतमा हरितिकरणमा विभिन्न काम गरेको छ भने हेटौंडा १० मा ६० हजार ६२१ रुपैयाँमा हरियाली प्रर्वद्धन गर्ने काम गरेको छ ।
त्यस्तै हेटौंडा–१, २, ६, ७ र १५ मा १२ लाख ६१ हजार रुपैयाँ लागतमा वृक्षारोपण, सडक नाला सरसफाई तथा हरितिकरणमा खर्च गरेको छ ।
यसबाट हेटौंडा बजार सुन्दर सफा शहरको रुपमा परिचित हुन सफल भएको छ । हेटौंडाको सडक पेटिमा रोपिएका विरुवाले अन्य शहरको तुलनामा शितलता प्रदान गर्न गरेको देखिन्छ । वातावरणिय दृष्टिकोणबाट पनि यो अत्यन्त प्रभावकारि देखिएको छ । प्रदुषण न्यूनिकरणमा पनि हरियालीले थप सहयोग गरेको देखिन्छ । आन्तरिक पर्यटनमा पनि हरियाली र सरसफाईले महत्वपूर्ण भूमिका खेलेका पाइन्छ । हेटौंडा उपमहानगरपालिकाको उक्त कदमले पर्यटन प्रर्वद्धनमा टेवा मिलेको छ । व्यवसयीक रुपमा पनि यसले महत्वपूर्ण सहयोग मिलेको छ ।