अनुदानले डोर्याएको आत्मनिर्भरताको बाटो
सिर्जना नेपाल हेटौंडाहेटौंडा–१९ कि कुमारी मोक्तान दुई वर्षअघिसम्म एक गृहणी महिला मात्रै थिइन् । सामान्य खर्चको लागि पनि उनी अरुको भर पर्नुपथ्र्यो । आफूलाई चाहिने श्रृंगार सामाग्रीदेखि घरको भान्छामा चाहिने नुनतेल किन्न पनि उनले अरुको अगाडि हात फैलाउनु पथ्र्यो । तर, अहिले उनको समय फेरिएको छ । दुई वर्षअघिसम्म घरखर्च चलाउन हात थाप्नुपर्ने कुमारी अहिले आफ्नै हातले कमाएको पैसाले सहजै घर धान्छिन् । उनले कमाएको पैसाले आफ्नो जरुरत र घरखर्च मात्रै टर्दैन,घरका बालबालिकालाई पढाउन पनि पुग्छ । ‘अहिले गोठमा बंगुर बाख्रा छन् । अनि मेरो हातमा आफ्नै कमाई’, उनले भनिन् । कुमारीको गोठमा अहिले ४० वटा बंगुर र ११ वटा बाख्रा छन् । उनको लागि बंगुर र बाख्रा जीवनको आत्मनिर्भरताको खुड्किलो हो । उनले यसअघि पनि घरमा बाख्रा नपालेको होइन । तर,व्यावसायिक रुपमा पशुपालन गर्दा आफूलाई आत्मनिर्भर बन्न सहयोग पुगेको उनी बताउँछिन् । २०७७ सालको मंसिर महिनातीरबाट उनले व्यावसायिक रुपमा पशुपालन सुरु गरेको बताइन् । उनलाई व्यवसायिक बनाउन हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ । उपमहानगरपालिकाले एक लाख रुपैयाँ सहयोग गरेपछि नै हो उनले व्यवसायिक रुपमा पशुपालन गर्न सकेको । ‘हेटौंडा उपमहानगरपालिकाले मलाई एक लाख रुपैयाँ सहयोग दिएकोले मलाई काम गर्न सजिलो भयो । यसैले गर्दा मेरो घरखर्च मात्रै टरेको छैन,मैले आफैपनि केहि गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’,उनले भनिन् ।
हेटौंडा उपमहानगरपालिकाले कुमारीलाई जस्तै उपमहानगरका महिला,युवा,किसान तथा पिछडिएका वर्गहरुलाई अनुदान दिएको छ । उनीहरुलाई आत्मनिर्भर बनाउँदै हेटौंडालाई व्यावसायिक पशुपालनतर्फ लैजान उपमहानगरले अनुदान वितरण गर्दै आएको छ । उपमहानगरले नगरको विभिन्न स्थानमा गोठसुधार कार्यक्रम गरेको छ । युवा लक्षित कार्यक्रमार्फत उपमहानगरपालिकाले बाख्रा,गाँई,भैसी तथा बंगुर फार्महरुलाई अुदान वितरण गर्ने काम समेत गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा उपमहानगरपालिकाले एकल महिला,गरिव,असहाय पशुपालन प्रोत्साहन कार्यक्रममार्फत ३५ जनालाई सहयोग गरेको छ । त्यस्तैगरि उपमहानगरपालिकाको बंगुर प्रवद्र्वन कार्यक्रममार्फत ५० जना लाभान्वित भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरको कृषि शाखाका रबिन्द्र पौडेलको अनुसार महिला पशुपालन कार्यक्रमबाट ३० जना तथा चिलिंग भ्याट अनुदान कार्यक्रमबाट तीनसय जना लाभान्वित भएको जानकारी दिए । उनले साना कृषक सहयोग कार्यक्रममार्फत खोर,गोठ सुधार र निर्माणको लागि प्रति खोर २५ हजारको दरले २०५ जना लाभान्वित हुनेगरि अनुदान दिएको बताए । घाँस काट्ने च्याप कटर,खाल्डो खन्ने मेसिन वितरण तथा डिपिङ ट्याङ्क निर्माण कार्यक्रमबाट ४५ जना लाभान्वित भएको पनि उपमहानगरको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तैगरि गाई प्रवद्र्वन कार्यक्रमबाट दुईसय ५०,गाई अनुदान कार्यक्रमबाट एकसय ६५ जना,बंगुर प्रवद्र्वन कार्यक्रमबाट दुईसय ५० जना र बाख्रा प्रवद्र्वन कार्यक्रमार्फत दुईसय ५० जना लाभान्वित भएको उपमहानगरको दावी छ । उपमहानगरपालिकाले सञ्चालन गरेको पशुसम्बन्धीका विभिन्न कार्यक्रमबाट ४५ हजार ८ सय १३ जना लाभान्वित भएको जनाइएको छ ।
कृषिमा उपमहानगरको अनुदान नै अनुदान
पाँच वर्षअघिसम्म हेटौंडा उपमहानगरपालिका आसपासका जमिन बाँझो थिए । रोजगारीको सिलसिलामा विदेशिने युवाको संख्या अत्याधिक मात्रामा थियो । तर,२०७४ सालमा भएको स्थानीय निर्वाचनबाट हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनीधि आएसँगै उपमहानगरका बाँझो जमिनमा विभिन्न प्रकारका कृषिजन्य उत्पादन हुन थालेको छ । युवा तथा महिलाहरु बाँझो बारिमा तरकारी,फलफूल तथा विभिन्न अन्नपात उत्पादन गरेर आयआर्जनमा लागेका छन् । हेटौंडा उपमहानगरपालिकाले उपमहानगरलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि अनुदान वितरण गरेपछि कृषिमा नयाँ नयाँ प्रकारको उत्पादन कार्य भएको छ । हेटौंडा उपमहानगरपालिकाको १९वटै वडामा टनेलमा तरकारी खेती गरेको देखिन्छ । उपमहानगरले टनेल निमाणमा अनुदान दिन थालेपछि हेटौंडाको सबै वडाहरुमा टनेल बनाएर तरकारी खेती गर्नेहरुको संख्या बढेको छ ।
उपमहानगरले आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म एकसय ८ वटा टनेल निर्माणमा अनुदान दिएको छ । उपमहागरले आर्थिक वर्ष ०७४/०७५ मा ८ वटा, आर्थिक वर्ष ०७५/०७६ मा १२ वटा, आर्थिक वर्ष ०७६/०७७ मा ७४ वटा र ०७७/७८ मा १४ वटा टनेल निर्माण गरेको जनाएको छ । उपमहानगरले कृषि उत्पादनमा किसानहरुलाई दक्ष बनाउन विभिन्न विषयमा २५ वटा तालिम समेत दिएको जनाएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा र ०७७/७८ मा ५ वटा नर्सरी निर्माण कार्यमा समेत अनुदान दिएको जनाइएको छ । उपमहानगरले ५२ वटा सिंचाई तथा अन्य संरचना निर्माण तथा मर्मत कार्य पनि गरेको छ । २५ स्थानमा कृषि ईन्जिनियरिङ कार्यक्रम समेत सञ्चालन गरेको उपमहानगरको कृषि शाखाका रबिन्द्र पौडेलको भनाई छ । उपमहानगरपालिकाले पछिल्लो ४ वर्षमा ६ सय ४० स्थानमा विभिन्न प्रकारको अनुदान दिएको छ । पौडेलले आर्थिक वर्ष २०७४/७५ र ०७५/७६ मा १/१ वटा तथा ०७६/७७ मा २ वटा स्थानमा अनुदान दिएको बताए । उनले आर्थिक वर्ष २०७७/७८ मा उपमहानगरले अनुदान कार्यक्रमलाई वृद्वि गर्दै ६ सय ३४ पुर्याएको बताए ।
कृषिलाई प्राथमिकता दिएको हेटौंडा उपमहानगरपालिकाले कृषि थोक बजार केन्द्र निर्माण समेत गरिरहेको छ । स्थानीय तहमा मिनी डिजिटल मोबाइल माटो ल्याव स्थापना तथा परिक्षण कार्य सञ्चालनको लागि समेत उपमहानगरपालिकाले दुईवटा अनुदान दिएको छ । उपमहानगरपालिकाले ६ सय २५ जनालाई हर्मोनियम ब्याग समेत वितरण गरेको छ । कृषिजन्य बीउहरुलाई भण्डारण गर्न लागि उपमहानगरले १९ वटै वडाका ६ सय २५ जनालाई हर्मोनियम ब्याग वितरण गरेको हो । उपमहानगरपालिकाले एक हजार आँप र लिचिको बिरुवा तथा तीन हजार कागतीको विरुवा समेत वितरण गरेको थियो । त्यस्तैगरि तोरी,गँहु,मकै र धानको बीउ पनि उपमहानगरले वितरण गर्दै आएको पौडेलको भनाई छ ।
आफ्नै मिहेनतले अब्बल किसान
हेटौंडा १९ नम्बर वडामा जीवन निर्वाहको लागि मात्र खेतिपाती पशुपन्छी पालन गरिँदै आएको थियो । तर आजभोली गाउँघरमा ब्यवसायीक कृषि कर्म गरेर स्वरोजगार बन्नेहरुको संख्या बढ्दै गएको छ । हेटौंडा उपमहानगरपालिकाले कृषि क्षेत्रमा लाग्न गरेको प्रोत्साहन, समन्वय र आवश्यक सहयोग गरेकाले क्रमशः वडाभित्र निर्वाहमुखी कृषि कर्म ब्यवसायीकतातर्फ अघि बढ्न थालेको हो ।
त्यसको उदाहरणको लागि सिरानचोकका रत्न बहादुर भ्लोनलाई लिन सकिन्छ । खेतिपाती र निर्वाहको लागि मात्र पशुपन्छी पालन गरिँदै आएको गाउँमा उहाँले ब्यवसायीक बाख्रा पालन सुरुवात गर्नुभएको हो । बुद्ध कृषि फम दर्ता गरी उनले हाल एकसय वटा उन्नत जातको बाख्रा पालिरहेका छन् ।
उनीजस्तै मिहेनती बाख्रा पालक किसान हो,नेवारपानीका उस्मान वाईबा । नेपाली सेनाबाट सेवा निबृत्त वाईबाले उन्नत जातको बाख्रा पालन गरिरहेका छन् । नेवारपानी उन्नत बाख्रा फम सञ्चालन गरिरहेका उनले देशका दुई दर्जन बढि जिल्लामा उन्नत जातको बाख्रा बिक्रि गरिसकेका छन् । नेवारपानीमै रहेको एस.एस. बाख्रा फम अर्को ब्यवसायीक बाख्रा पालन फम हो । राजन सुवेदीले बिगत् ४ वर्षदेखि ब्यवसायकि बाख्रा पालन गरिरहेका छन् ।
१९ नम्बर वडामा मात्र एक दर्जन ब्यवसायिक बाख्रा पालन फम रहेको छ । ब्यवसायिक र परम्परागत ढंगले पालिएका गरी करिब ३० हजार बाख्रा वडाभित्र पालिएको वडा कार्यालयको तथ्याङ्क छ ।
वडाभित्र आधा दर्जन ब्यवसायीक गाई भैँसी फर्महरु पनि रहेका छन् । विषेशगरी युवाहरु ब्यवसायिक कृषि कर्ममा उत्साहित भएर लागेका छन् । त्यस्तै ब्यवसायिक तरकारी खेती पनि गरिएको छ । बस्तिपुर,नेवारपानीसँगै माथिल्लो भेगमा रहेको सिरानचोक, कुवापानी लगायत गाउँहरुमा पनि टनेल खेती गर्न थालिएको छ । वडाभित्र कृषि तथा पशुपन्छि जन्य उत्पादन बिक्री गरेर वार्षिक तीन करोड रुपैयाँ बढि पैसा भित्रने गरेको छ ।