के प्रेम गर्नु पाप हो ? पाप गरे जस्तै भयो यी युवतीलाई
गुगलपाटी संवाददाता भारतभारतको मध्यप्रदेशस्थित मुरैना जिल्लामा प्रेमीसँग भागेकी एक युवतीलाई पञ्चायतले मृत्युदण्डको सजाय सुनाएपछि उनका अभिभावकले कुटपिट गरी ज्यान लिएका छन् ।
युवक युवतीको समाज र गोत्र एउटै भएका कारण उनीहरुबीच बिहे हुन सम्भव थिएन । मध्यप्रदेशको नुराबाद पुलिसले हत्याको यस घटनामा उजुरी दर्ता गरेर छानबिन थालेको छ ।
मुरैना जिल्लका अतिरिक्त पुलिस अधिक्षक अनुराग सुजेनियाका अनुसार यो घटना २४ मे मा भएको हो । शंकास्पद अवस्थामा १८ वर्षीया युवतीको ज्यान गएको थियो । शवलाई उनका घरवालाले पोस्टमार्टम नगरी आफ्नो खेतमा लगेर जलाइदिएका थिए ।
सुजेनियाका अनुसार यस घटनाको पुलिसलाई २५ मे मा सूचना मिलेको थियो । त्यसपछि पुलिसले आफूसँगै फोरेन्सिक जाँच टोलीलाई लिएर शवको अनुसन्धान गरेको थियो । सुजेनियाका अनुसार पुलिसले मृतकका परिवारजनको खोजी गरिरहेको छ।
उनका अनुसार युवतीको प्रेम प्रसंग नजिकैको गाउँ मोरोपुराका युवक सोनुसँग चलिरहेको थियो । दुवैजना एकै गोत्रका थिए । यसैले उनीहरुको बिहे हुन सक्ने अवस्था नरहेको परिवारले जनाएका थिए ।
परिवारले नमानेपछि दुवैजना भागेका थिए । तर उनीहरु भागेपछि परिवारजनले युवतीलाई घर फर्काएमा युवकलाई केही नभन्ने भन्दै फकाएका थिए । त्यही अनुसार युवतीलाई गाउँमा फर्काइयो ।
त्यसपछि युवतीका परिवारजनले आफ्ना नातागोता र समाजका सदस्यहरुलाई बोलाएर पञ्चायत डाके । त्यो पञ्चायतले युवतीलाई मृत्युदण्डको सजाय सुनाएको थियो । एजेन्सी