महिला तथा बालबालिका सम्बन्धी अभिमुखिकरण
गुगलपाटी संवाददाता हेटौंडा,१५ जेठमकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी आल्दमार र वडा नम्बर ३ बसामाडीमा महिला तथा अपाङ्गता बालबालिका सम्बन्धी एक दिने अभिमुखीकरण भएको छ । बाल अधिकार तथा महिला विकास केन्द्रको आयोजना तथा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।
अभिमुखीकरणमा अपाङ्गता, अपाङ्गता बारे राज्यको दृष्टिकोण लगायतका बारेमा प्रकाश पारिएको केन्द्रका अध्यक्ष रामहरी पोखरेलले जानकारी दिए । अभिमुखीकरणमा सामुदायिक सहयोग संगठन नेपाल (कोसान) का सहजकर्ता चिरञ्जीवी पाण्डेले सहजीकरण गरेका थिए । पदमपोखरीको आल्दमारमा जनमुखी बचत तथा ऋण सहकारीको भवनमा र बसामाडीको महेन्द्र किरण माविमा कार्यक्रम आयोजना गरिएको हो । अभिमुखीकरणमा स्थानीय सामाजिक व्यक्तित्व, नागरिक अगुवा, टोल विकास समितिका अगुवा, खानेपानी उपभोक्ताका सदस्यहरु, महिला समूह, वन समितिका सदस्यहरु लगायतका सहभागीता रहेको थियो ।
आल्दमारमा वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस्तै बसामाडीमा वडा नम्बर ३ का अध्यक्ष रामकुमार पुडासैनीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर घलानको समेत आतिथ्यता रहेको थियो ।