अस्थायी राजधानी तोकेपछि हेटौंडामा खुशीयाली

गुगलपाटी संवाददाता
४ माघ २०७४ १३:५५

हेटौंडा,४ माघ । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी भक्तपुर प्रस्ताव गरेपछि निराश बनेका हेटौंडाबासी अस्थायी राजधानी हेटौंटा ताकिएपछि खुशी भएका छन् । धमाधम क्षेत्रीय कार्यालयहरु अन्यत्र सर्न थालेपछि हेटौंडाबासीमा राजधानीको आस हराउँदै गएको थियो ।
बुधबार बसेको मन्त्रीपरिषद बैठकले हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन निर्णय गरेको थियो । हेटौंडामा अस्थायी राजधानी आएपछि एमाले, नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र राप्रपा नेपालका कार्यकर्ताहरुले खुशी साटासाट गरिरहेका छन् ।
बिहीबार साँझ हेटौंडाको बुद्ध चोकमा नेपाली काँग्रेस सम्बद्ध युवाहरु र सिमा चोकमा नेकपा एमाले सम्बद्ध ब्यवसायीहरुले मैनबत्ती बालेर खुशीयाली साटेका छन् । ‘हेटौंडाले ठूलो उपहार पाएको छ,अब यसलाई जोगाएर राख्ने जिम्मेवारी हामीले पुरा गर्नुपर्छ’,काँग्रेस सम्बद्ध तरुण दलका नेता सुनिल गिरीले भने, ‘यसलाई अब स्थायी बनाउन निर्वाचित जनप्रतिनिधिहरुले विषेश भूमिका खेल्नुपर्छ ।’ आधा दर्जन सडक सञ्जालले छोएको हेटौंडा भौक्तिक संरचना र भौगलिक हिसावले पनि उपयुक्त रहेको नेकपा एमाले सम्बद्ध युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईले बताए ।
यता बुधबार बसेको मन्त्रीपरिषद बैठकबाट हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएपछि उक्त निर्णय आफ्नो पलहमा भएको भन्दै जस लिन नेताहरु लागि परेका छन् । तर राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री कमल थापाको पहलमा हेटौंडा अस्थायी राजधानी कायम भएको बताइएको छ ।