हेर्नुस् कति बजेट पर्यो फास्ट ट्रयाकलाई

गुगलपाटी संवाददाता हेटौंडा,१६ जेठ
१६ जेष्ठ २०७५ ०७:४५

सरकारले काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०७५र०७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो । यसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड रुपैयाँ खर्च गरिनेछ ।

द्रुतमार्ग निर्माण गरिरहेको सेनाले भने आगामी आर्थिक वर्षका लागि काम अघि बढाउन ३८ अर्ब बजेट माग गरेको थियो । चालु आर्थिक वर्षमा सरकारले यो सडकका लागि १० अर्ब १४ करोड बराबरको रकम छुट्टाएको थियो । तर, सेनाले ८ अर्ब ५३ करोड मात्रै खर्च गरिसक्ने अनुमान गरिएको छ ।

नेपाली सेनाले अहिले डीपीआर निर्माण गर्दैछ । यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर सेनाले नकिन्ने निर्णय गरेसँगै नयाँ डिपिआर बनाउनुपरेको हो । लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
चार वर्षमा पूरा हुने लक्ष्य राखिएको आयोजनाको कुल लागत १ खर्ब ११ अर्बको अनुमान गरिएको छ ।यो सडकखण्ड मकवानपुर जिल्ला हुदै ललितपुर पुग्नेछ । मकवानपुरको हेटौंडा हुदै जाने भएकाले यो सडकसंग मकवानुपरका नागरिकहरुको पनि सरोकार छ।