गस्ती गर्ने महिलाहरु प्रदेश प्रमुखको कार्यालयमा
गुगलपाटी संवाददाता हेटौंडा,१७ जेठहेटौंडा–९ नम्बर वडामा रात्री गस्ती गर्ने महिला तथा आमा समुहका सदस्यहरुलाई तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले सम्मान गरेकी छिन् । रात्रीगस्ती गरेर सामाजको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रदेश प्रमुख कोईरालाले उनीहरुलाई बिहीबार हेटौंडामा सम्मान गरेको हो ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, ‘ हेटौंडा कुरितीहरुबाट सफा भए प्रदेशका सबै जिल्ला आफै सफा हुन्छ ।’ मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा रात्री समयमा लागुपदार्थ सेवन तथा बेचबिखन हुने गरेको भन्दै रोकथाममा लागेर देशमै उदाहरणीय काम गरेको महिलाहरुको उनले प्रशंसा गरिन् । ‘महिलाहरुले सबै ठाउमा यस्तैगरी सक्रिय हुनुर्छ’, कोईरालाले भनिन्, ‘तपाईहरुले गरेको काममा मेरो पूर्ण समर्थन छ ।’
रात्री गस्ती गर्ने महिलाहरुलाई टोपि लगाएर र र्टच लाईट दिएर सम्मान गरेकी थिईन् । काईरालाले यो सम्मान प्रदेश प्रमुखको हैसियतले नभई आफ्नो तर्फबाट सम्मान गरेको बताईएकी थिईन् ।
दुई महिना अघिदेखि लागू औषध दुब्र्यसनी, महिला हिंसा, झैझगडा र चोरीका कारण अशान्त बन्दै गएको पूर्व–पश्चिम राजमार्ग अन्तर्ग हेटौंडा–९ पशुपतिनगरस्थित मदन र स्वागत टोलमा महिलाहरु रात्री गस्तीमा खटिएका थिए । कार्यक्रममा बोल्दै रात्रीगस्ती महिला समुहकी अध्यक्ष कल्पना थापा मगरले सम्मानले आफुहरु उत्साहित भएको बताईन् ।